
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बताए ।
उनले भने, “उपत्यकाबाहिर देखिएको सङ्क्रमणको यो पहिलो घटना हो । बिरामीको अवस्था सामान्य । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले उहाँको उपचार भइरहेको छ ।” देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए । सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए ।
योसँगै गत एक हप्तामै तीनजना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई दिनअघि नेपालका तेस्रो व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको थियो । धादिङका ती व्यक्ति कतारबाट फर्केका थिए । त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए ।
दोस्रो र तेस्रो सङ्क्रमित नेपालीसँगै विमानमा आएका मानिसहरूलाई सम्पर्कमा आइदिन सरकारले सार्वजनिक अपील गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए ।
उनी निको भई घर फर्किसकेको अधिकारीहरूले बताएका छन् । उनी पछिका बाँकी तीनैजना कोभिड–१९ रोगका बिरामीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । दोस्रो नेपाली सङ्क्रमित भएको पाइएपछि नेपालले गत मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।
के छ विश्वको स्थिति ?
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वका १७६ देशमा कोरोभाइरस सङ्क्रमण फैलिसकेको छ । उसका अनुसार कोरोनाभाइरसका कारण अहिलेसम्म २४,९०६ जना व्यक्तिको ज्यान गइसकेको छ ।
विश्वभरि हालसम्म ५,५१,३३७ जना व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको उक्त विश्वविद्यालयले जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार तीमध्ये १,२७,५६४ व्यक्ति पूर्ण रूपमा निको भइसकेका छन् । (बीबीसी नेपालीबाट)