कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका युवाहरुलाई क्वारेन्टाइन पठाइयो



फिदिम, १३ चैत

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवाहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवाहरुलाई बुधवार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको हो । सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाहरुबारे विवरणहरु सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ ।

उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले भनेको छ । सामाजिक सञ्जालमा उक्त उडानबाट तीन जना पाँचथरका युवा नेपाल आएको चर्चा भएको थियो । जसमध्ये एक जना झापामा बसोबास गर्दै आएको र क्वारेन्टाइनमा बसिसकेका छन् । सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवाहरुलाई क्वारेन्टाइन पठाइएको हो ।

एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पु¥याइएको हो । दुवै युवाहरुको परिवारलाई घरमै विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको तथा स्थानीय स्वास्थ्यकर्मीहरुले निगरानी गर्ने भएका छन् । दुवैमा कोभिड–१९ को सङ्क्रमणबारे शीघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्