पाँचथरमा सदरमुकाम आसपास १०० वेडको क्वारेन्टाइन



फिदिम, १२ चैत

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पाँचथरमा सदरमुकाम फिदिम आसपासमा एक सय शैय्याको क्वारेन्टाइन निर्माण हुने भएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै फिदिममा समर्पित अस्पताल, अगुवा स्रोत केन्द्र भवन, फिदिम माध्यमिक विद्यालय, स्वास्थ्य कार्यालय र खेलकुद विकास समितिको भवनलाई क्वारेन्टाइनको रुपमा विकास गरिने भएको हो ।

“कम्तिमा सदरमुकाम आसपासमा एक सय बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारीका साथ काम सुरु भएको छ”, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भन्नुभयो, “मंगलबार नै समर्पित अस्पतालमा १६ क्वारेन्टाइनका लागि १६ बेड तयार भइसकेका छन् ।”

नेपाली सेना क्वारेन्टाइन निर्माणमा जुटेको छ । फिदिम नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाली सेना र समर्पित अस्पतालले क्वारेन्टाइनका लागि सामग्रीको प्रवन्ध गरेपछि निर्माण कार्य अघि बढेको हो । सेनाले बुधबारबाट अगुवा स्रोत केन्द्रको भवन तथा फिदिम माध्यमिक विद्यालयको भवनमा समेत क्वारेन्टाइन निर्माण कार्य सुरु गरेको छ ।

खेलकुद विकास समितिको भवनमा भने पानी छिर्नसक्ने भएकाले उपयुक्त स्थानको रुपमा पहिचान मात्रै गरिएको हो । आवश्यक पर्दा तत्कालै क्वारेन्टाइनको रुपमा विकास गर्न सकिने अवस्थामा उक्त भवनलाई राखिने प्रजिअ शर्माले वताउनुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार कोभिड–१९ को संक्रमण देखिएको अवस्थामा सदरमुकामका खाली स्थानमा समेत क्वारेन्टाइन निर्माण गर्नुपर्ने हुनाले ती स्थानहरुलाई समेत तयार अवस्थामा राखिएको छ ।

“जोखिम बढ्यो भने भवनहरुले मात्रै पुग्दैन् । खाली जमिनमा समेत क्वारेन्टाइन निर्माण गर्नुपर्ने हुनसक्छ”, सापकोटाले भन्नुभयो । कोरोनाभाइरसको सङ्क्रण हुनबाट बच्न जिल्लामा उच्च सतर्कता अपनाइएको सापकोटाको भनाई छ ।

यस्तै जिल्ला विपत ब्यवस्थापन समितिले जिल्लाका सात वटै गाउँपालिकाहरुलाई कम्तिमा २५ वेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर तत्कालै स्थानीय स्तरमा उपलब्ध जनशक्ति एवम् प्रविधिको प्रयोग गरी क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले वताउनुभयो ।

निर्देशनबमोजिम अधिकांश गाउँपालिकाहरुले क्वारेन्टाइन निर्माणको काम अघि बढाएका छन् । यस्तै फिदिम स्थित जिल्ला अस्पताल, पाथीभरा अस्पताल र समर्पित अस्पतालमा आइसोलेसन कक्ष निर्माणको काम समेत अगाडि बढेको छ ।

जिल्लामा सम्भावित विरामीहरुको शीघ्र परीक्षणका लागि जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वुद्धिबहादुर थापाको नेतृत्वमा चिकित्सकीय टोली समेत गठन भएको छ ।


प्रशासनले सबै जिल्लावासीलाई अत्यावाश्यक काम बाहेक घर बाहिर ननिस्कन अपील गरेको छ । लकडाउन पालना नभए निषेधाज्ञा वा कफ्र्यू जारी हुनसक्ने प्रशासनले जनाएको छ ।

“भरसक कठोर कदम चाल्नु नपरोस् भन्ने हाम्रो चाहना हो”, प्रजिअ शर्माले भन्नुभयो, “लकडाउनको राम्रोसँग पालना नभए सुरक्षाका लागि प्रशासनले कफ्र्यू लगाउन वा निषेधाज्ञा जारी गर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्