हिलिहाङ गाउँपालिकाले २५ शैय्याको क्वारेन्टाइन निर्माण गर्ने



फिदिम, ११ चैत

कोभिड–१९ को संक्रमणसँग जुध्न पाँचथरको हिलिहाङ गाउँपालिकाले २५ शै्य््याको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको सोमवार सम्पन्न बैठकले हिलिहाङ–३ गोपेटारमा स्थित प्राथमिक स्वास्थ्य केन्द्रसँगै रहेको श्रीजंघ माध्यमिक विद्यालयलाई २५ शैय्याको क्वारेन्टाइनको रुपमा विकास गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाध्यक्ष मदन गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले क्वारेन्टाइनका लागि आवश्यक सम्पूर्ण प्रवन्ध गर्ने भएको छ । यसमा आवश्यक पर्ने मेडिकल लगायत सामग्री खरिद गर्न गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले १५ दिनको सेवा सुविधा उपलब्ध गराउने भएका छन् ।

उक्त गाउँपालिकाले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क, समन्वय र जोखिम न्यूनिकरणका लागि गाउँपालिका अध्यक्ष भूवानीप्रसाद लिङ्देनको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनिकरणका लागि अध्यक्ष लिङ्देनकै संयोजकत्वमा नौ सदस्यीय कार्यदल समेत बनाएको छ । उक्त गाउँपालिकाले चैत मसान्तसम्म सम्पूर्ण प्रकारका सार्वजनिक कार्यक्रमहरु, धार्मिक कार्यक्रमहरु तथा शैक्षिक क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँपालिका भित्र विदेशबाट आउने ब्यक्तिहरुको विवरण दैनिक रुपमा वडाले संकलन गरी गाउँपालिकामा जम्मा गर्ने तथा अत्यावाश्यक बाहेकका सबै सेवा अर्को निर्णय नभइञ्जेल बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्