

फिदिम, ११ चैत
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न आजबाट घोषित लकडाउनका कारण यहाँ मानवीय चहलपहल घट्दै गएको छ ।
हिँजो ढिलो गरी लकडाउनको सूचना सार्वजनिक भएका कारण पाँचथर सहित पूर्वी पहाडमा विहान मानिसको सामान्य चहलपहल देखिएको थियो । विशेषत गाउँ जाने तथा अत्यावाश्यक काम गर्ने एवम् सामानको प्रवन्ध गर्नेहरुका कारण विहान मानवीय चहलपहल देखिएको थियो ।
कार्यालय समयपछि भने मानवीय चहलपहल घट्दै गएको छ । मुख्य बजार तथा सवारीका साधनहरु ठप्प छन् । ढिलो गरी लकडाउनको सूचना प्राप्त भएका कारण अझैपनि कतिपय मानिसहरु फिदिम सहित बजारी इलाकाबाट गाउँ जाने ब्यवस्था तथा अत्यावाश्यक सामग्री खरिद गर्ने ब्यवस्थाको पर्खाईमा देखिन्छन् ।
जिल्लाका आठ वटै स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले लकडाउनसम्बन्धी आदेश पालना गर्न तथा कोभिड–१९ को सम्भावित जोखिम कम गर्न सहयोग गर्न अपील गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले अत्यावाश्यक काम हुने सर्वसाधारणले कारण खुलाई आवश्यक कागजात सहित निवेदन दिएमा प्रशासनबाट सवारी सञ्चालन अनुमति उपलब्ध गराउने जनाएको छ ।
पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार लकडाउन भनेको के हो भन्ने प¥याप्त जानकारी नहुँदा मानिसहरु सडकमा देखिएको वताउनुभयो ।
“लकडाउन के रहेछ भनेर समेत हेर्न मानिसहरु सडकमा देखिए”, न्यौपानेले भन्नुभयो, “कतिपय त अत्यावाश्यक कामले पनि आएका छन् । भोलीबाट मानवीय चहलपहल धेरै घट्छ ।” (तस्वीरः भीम बाँस्कोटाबाट)