पाँचथर पुख्र्यौली घर भएका सम्बाहाम्फेको कोभिड–१९ का कारण मृत्यु



फिदिम, ११ चैत

पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ३ पुख्र्यौली घर भएका एक ब्यक्तिको संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।

कुम्मायक गाउँपालिका वडा नं. ३ रानीगाउँको सिमराहा पुख्र्यौली घर भई १२ वर्षदेखि अमेरिकामा बस्दै आएका रमेश सम्बाहाम्फेको मंगलबार विहान निधन भएको परिवारजनले वताएका छन् ।

स–परिवार अमेरिकामा होटल तथा ट्याक्सीको ब्यवसाय सञ्चालन गर्दै आएका सम्बाहाम्फेलाई केही दिन अघि कोभिड–१९ को संक्रमण भएको अस्पताल पुष्टि गरेको थियो । मधुमेह रोगले ग्रसित ५१ वर्षीय सम्बाहाम्फेको उपचारका क्रममा ज्यान गएको उहाँका बुवा राजनन्द सम्बाहाम्फेले जानकारी दिनुभयो ।

श्रीमती र दुई छोरा सहित अमेरिकामा बसोबास गर्दै आउनुभएका सम्बाहाम्फले त्यहाँको ग्रीन कार्ड समेत पाइसक्नु भएको परिवारजनले वताएका छन् । नेपाल स्थित परिवारजनका अनुसार सम्बाहाम्फे परिवारका अन्य सदस्यमा समेत उक्त रोगको संक्रमणको आशंकामा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्