कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारद्वारा १० करोडको कोष स्थापना



विराटनगर, ११ चैत

प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि १० करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको ‘कोरोना जनसुरक्षा कोष’ खडा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कोष खडा गरी प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा समेत गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्रीहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक पनि जम्मा गर्ने निर्णय भएको उनले बताए ।

त्यसैगरि मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘कोरोना इन्फर्मेसन डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ । सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरका कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन उक्त डेक्समा कोरोनाका बारेमा सूचनाहरु उपलब्ध गराउने प्रबन्ध गरिएको जनाइएको छ । (उद्घोष दैनिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्