कोरोनाभाइरसः नेपालमा पनि महामारी फैलिने त्रास चुलिँदा उठेका प्रश्नहरू



भारतमा उपचार गराइरहेका एक नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित बनेको समाचार केही छिनमै ‘गलत’ बन्यो । सञ्चारमाध्यमको हतारो र सूचना दिने अधिकारीहरूको ‘गैरजिम्मेवारी’ माथि ठूलो प्रश्न उठ्यो ।

तर त्यो सूचनाले आइतवारको सन्ध्याकालबाट मच्चिएको सनसनीकाबीच काठमाण्डूमा विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भयो । त्यसले क्षणभरमै उत्पन्न चासोले देशभरि एक खालको संशय फैलाइदिएको आभास दिन्छ ।

कोरोनाभाइरसविरुद्ध विश्वका सुविधासम्पन्न विकसित देशहरू संघर्षरत छन् । उत्तरी छिमेकको वुहानमा सबैभन्दा पहिलो पल्ट देखिएको भनिएको कोरोनाभाइरसको सङ्क्रमण यति बेला नेपालको खुला सिमाना रहेको दक्षिणी छिमेकी भारतमा पनि फैलिँदो छ । यस्तो स्थितिमा जोखिममा रहेको देखिएको नेपालमा थप एक जनामा सङ्क्रमण देखियो ।

तर वीरगन्ज हुँदै पसेको गलत सूचना र विदेशबाट फर्किएकी युवतीमा सङ्क्रमण पुष्टि भएको खबरले जसरी एक खालको अत्यासको सञ्चार गराएको देखियो, त्सयले भोलिका दिनमा थप सङ्क्रमित मानिस भेटिएमा उत्पन्न हुने भयानक सन्त्रास सङ्केत दिन्छ ।

डर निवारण कसरी होला ?

अन्य देशले भोगेको वा भोगिरहेको जस्तो गम्भीर स्थिति आइपरेमा के अत्तालिएको मनोदशामा नेपालले त्यसको सामना गर्न सक्ला ? त्यो सरकारको तयारीमा निर्भर हुने त छ नै, आफ्ना सरोकारवाल निकायसँगै उसलाई सर्वसाधारणको साथ, समर्थन र सहयोग खाँचो पर्नेछ ।

नागरिक तहबाट अहिलेसम्म सरकारले गरेका निर्णयको पालना गरेर सजगता र सचेतता त अपनाएको देखिन्छ । क्वारेन्टाइन र आइसोलेशनका निम्ति देशका विभिन्न भागमा तयारी भइरहेका खबरहरू पनि आइरहेका छन् । तर स्वयम् चिकित्सकहरू भनिरहेका छन् “स्वास्थ्यकर्मीहरूकै सुरक्षाका लागि आवश्यक सामग्री पर्याप्त छैनन् ।”

त्यसैले डर पैदा भएको देखिन्छः वल्लो कोठा वा घरमा कसैलाई ज्वरो आउँदा वा बिरामीले थलिएर गुहार माग्दा पनि असहाय बनेर छटपटिने अवस्था त आउने होइन ? मौसमी ज्वरो वा रुघाखोकीमात्र लाग्दा पनि त्यसको पहिचान कसरी गर्ने, कहाँ जाने ? अस्पताल वा समाजमै छोइछिटोको उत्पीडिन बेहोर्नुपर्ने त होइन ?

विज्ञहरूको बुझाइमा त्यो डर निवारण गर्न सरकारले नागरिकलाई आश्वस्त पार्नुपर्छः होसियारीपूर्वक सम्भावित ‘कठोर पीडा’लाई परास्त गर्नुको विकल्प छैन, त्यसको निम्ति सरकारी संयन्त्र तयार छ । तपाईँलाई परामर्श दिने वा आवश्यक पर्दा अस्पताल पुर्याउन र उपचार गर्न स्वास्थ्यकर्मी, एम्बुलेन्स र स्वयंसेवकहरू पर्याप्त छन् । र, त्यो बारम्बार दोहोर्याइरहनुपर्छ ।

दोस्रो सङ्क्रमणको पुष्टि गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देखाएको जस्तै दृढता जनताले देख्न पाइरहनुपर्छ । सरकारले गरिरहेका कामबारे प्रत्यक्ष प्रसारण गरिने पत्रकार सम्मेलनमार्फत् दिइने दैनिक सूचनाले जनतालाई एक खालको भर दिन सक्ने ठानिन्छ । ढकालले अहिले अव्यवस्थिति रहेको सूचना प्रणाली सुदृढ पार्ने बताएका पनि छन् ।

‘अकल्पनीय अत्यास’को उपचार के हो ?

सरकारले अन्तर्राष्ट्रिय हवाईसेवा र स्थलनाकाहरू बन्द गरेको छ । देशभित्र पनि विभिन्न प्रतिबन्धहरू घोषणा गरेको छ । सरकारले विश्वका विभिन्न देशले अँगालेका सफल उदाहरणहरू अनुसरण गरेको आभास दिनु अर्को उत्तम बाटो हुने ठानिन्छ ।

त्यसै पनि सङ्क्रमित हुँदैमा सबै बिरामीको ज्यान जाने पनि होइन । संसारमा थुप्रै सङ्क्रमित निको भएका पनि छन् । नेपालमा पुष्टि भएको पहिलो सङ्क्रमित निको भइसकेको सरकारी भनाइ छ ।

कोरोनाभाइरसको सङ्क्रमणको विस्तार विशाल देखिए पनि अहिलेसम्म मृत्युदर कम छ । त्यसैले ‘तपाईँ सजग बन्नुहोस्, हामी सम्भावित निकै खराब चुनौतीलाई हराउन पूर्ण तयारीमा छौँ’ भन्ने सरकारी सन्देश भरपर्दो देखिन आवश्यक छ । सर्वसाधारणमा संशयको अवस्था आउन नदिन स्वास्थ्य परीक्षण व्यापक बनाउँदै त्यसलाई पारदर्शी देखाइनु पर्ने खाँचोमा विज्ञहरूले जोड दिइरहेका छन् ।

विश्वका विभिन्न देशमा प्रभावकारी मानिएका उदाहरणहरूले परीक्षणको व्यापकता र सङ्क्रमितको सम्पर्कको पहिचानलाई विशेष प्राथमिकता दिइनुपर्ने देखाएका छन् । स्वास्थ्यमन्त्रीले नयाँ सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरू पत्ता लगाइने जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६०० सयको हाराहारीमा मात्र नमुना परीक्षण भएका छन् । तीमध्ये चीनबाट उद्धार गरिएका मानिस र उद्धार टोलीका सदस्यबाट दुई चोटि नमुना सङ्कलन गरिएको बताइन्छ ।

दैनिक परीक्षणको दर पनि न्यून छ । त्यसैले अहिलेसम्म परीक्षण सीमित रहेको सन्देश गइरहेको पाइन्छ । सम्भावित सङ्क्रमणको पहिचान छिटो र छरितो गर्न आवश्यक उपकरण र किट, परीक्षण र त्यो सुविधाको विस्तार तत्काल आवश्यक रहेको अनुभव स्वयं सरकारले पनि गरेको छ ।

स्वास्थ्यमन्त्री ढकालले त्यसको निम्ति सरकारले आवश्यक कदम चालिरहेको जानकारी दिए । परीक्षण र उपचारको प्रबन्धको सुनिश्चिततासँगै सङ्क्रमण विस्तार हुन नदिन आवश्यक थप कठोर निर्णय लिन ढिला गर्न नहुने जानकारहरूले औँल्याइरहेकै छन् ।

विश्वका विभिन्न देशहरूले सङ्क्रमण नियन्त्रण र नागरिक सुविधाका निम्ति सुरक्षाकर्मीको सहयोग लिइरहेका छन् । नेपालमा पनि चीनबाट उद्धार गरिएकाहरू क्वारन्टीनमा रहँदा नेपाली सेनाका सदस्य संलग्न रहे ।

सङ्क्रमणभन्दा पनि त्रासले थला पार्ने जोखिम चिकित्सक र मनोविज्ञहरूले औँल्याइरहेका छन् । राजधानीबाट हजारौँ मानिसहरू बाहिरिएका छन्, भारतबाट हजारौँ मानिस घर फर्किएका छन् । देशका विभिन्न भागमा सङ्क्रमण देखा परेमा त्यो डर झन् थपिन सक्छ ।

सङ्क्रमणको सम्भावना न्यून पार्ने उद्देश्यले नै सरकारले सकेसम्म घरभित्रै बस्न भनेको छ। सडक–बजारमा स्वात्तै पातलिएको आवागमनले त्यसको पालना भइरहेको देखाउँछ ।

कैयौँ उच्च नेताहरू समेतले त्यसको पालना गरिरहेको विवरणका बीच नेकपा अध्यक्ष प्रचण्डले शारीरिक अभ्यासको निम्ति घरको चौघेराभित्रै साइकल चलाइरहेको भिडिओ सार्वजनिक भएको छ । त्यसले सर्वसाधारणलाई सरकारी घोषणा पालन गर्न प्रेरित गर्न सघाउने देखिन्छ ।

तर नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमण विस्तारको जोखिम बढेको ठानिँदा राजनीतिक नेतृत्वको जिम्मेवारी थपिन सक्ने देखिन्छ । राजनीतिक दलहरूले पनि आवश्यक परेमा आफ्ना कार्यकर्तालाई उद्धार र सहयोगका निम्ति देशले अहिलेसम्म नभोगेको सम्भावित सङ्कटलाई परास्त गर्ने राष्ट्रिय क्षमताको अभिन्न अङ्गको रूपमा स्वयंसेवक तयार गर्नुपर्ने अवस्था आउने सम्भावना अस्वीकार गर्न सकिँदैन । जुन नेपालमा जस्तो समाजका हरेक क्षेत्रमा प्रभाव राख्ने राजनीतिक दलहरूबाट निर्वाह हुने त्यस्तो जिम्मेवारी प्रभावकारी हुन सक्ने ठानिन्छ । (शरद केसी, बीबीसी न्यूज नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्