

फिदिम, ८ चैत
महामारीको रुपमा फैलिइरहेको कोभिड–१९ (कोरोनाभाइरस)को सङ्क्रमणबाट बच्न पाँचथरमा उच्च सतर्कता अपनाइने भएको छ ।
जोखिमबाट बच्न पाँचथरको तराई तर्फको सीमा नाका राँके बजारमा स्वास्थ्य परीक्षण सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिने भएको छ । तराईका झापा र इलाम हुँदै पाँचथर आउने सवारीका यात्रुहरुको यहाँ स्वास्थ्य जाँच गरेपछि मात्रै जिल्ला भित्रन दिइने भएको छ ।
शनिवार फिदिममा बसेको सर्वपक्षीय बैठकले राँके बजारमा सहायता कक्ष स्थापना गर्ने तथा फिदिममा रहेका अस्पतालहरुमा विशेष शैय्या र अतिरिक्त शैय्याको ब्यवस्था गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
राँके बजारमा गरिने स्वास्थ्य जाँचमा कोभिड–१९ सँग मिल्ने लक्षणका विरामी भेटिए तत्कालीन सुरक्षाका लागि राँके बजार आसपासमै राख्ने क्वारेन्टाइन निर्माण कार्य समेत अघि बढाइने भएको छ । यसका लागि जिल्ला स्थित सुरक्षा निकाय, फाल्गुनन्द गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले काम अघि बढाउने भएको जिसस प्रमुख सापकोटाले वताउनुभयो ।
उहाँका अनुसार नियमित विरामी जाँच तथा कोभिड–१९ सँग मिल्ने लक्षणका विरामीको उपचारका लागि फिदिममा रहेको जिल्ला अस्पताल तथा दुई निजी अस्पतालमा गरी ९० विशेष शैय्या निर्माण गरिने भएको छ । जिल्ला अस्पतालमा ४० शैय्या, समर्पित अस्पतालमा ३० शैय्या र पाथीभरा अस्पतालमा २० शैय्याको ब्यवस्था मिलाइएको छ ।
यस्तै कोभिड–१९ का शंकास्पद विरामी तथा बाहिरबाट आउनेहरुलाई राख्न फिदिममा क्वारेन्टाइन निर्माण गरिने भएको छ । सुरक्षा निकाय र फिदिम नगरपालिकाको समन्वयमा उपयुक्त स्थानमा क्वारेन्टाइन निर्माण गरिने प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । “उपयुक्त स्थानहरुको पहिचान भइरहेको छ । चाँडै क्वारेन्टाइन निर्माण कार्य अघि बढ्छ”, प्रजिअ शर्माले भन्नुभयो ।
यस्तै प्रशासनले दैनिक उपभोग्य सामग्री मौज्दात तथा कालो बजारी नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायहरु सहित पाँचथर उद्योग वाणिज्य संघ र स्थानीय तहसँग सहकार्य गरेर दैनिक अनुगमन गर्ने प्रजिअ शर्माले वताउनुभयो । खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको नियमित आपूर्तिको प्रवन्ध मिलाउने कामसमेत हुने उहाँको भनाई छ ।
यस्तै कोभिड–१९ का शंकास्पद विरामीहरुको चेकजाँच र उपचारका लागि सरकारी अस्पतालमा आवश्यक सामग्रीहरुको अभाव भएपछि जिल्लाको सर्वपक्षीय टोलीले प्रदेश सरकारले तत्कालै अत्यावाश्यक सामग्रीको प्रवन्ध गर्न माग गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सापकोटाका अनुशार सर्वपक्षीय टोलीले प्रदेश नं. १ सरकारका सामाजिक विकास मन्त्री लगायतलाई भेटेर तत्कालै अत्यावाश्यक चिकित्सकीय सामग्रीको प्रवन्ध गर्न माग गरेको हो । यस्तै संघीय सरकारको निर्देशनअनुसार स्थानीय तहहरुबाट सावधानी र सचेतनामूलक कार्यक्रम अगाडि बढिसकेको समन्वय समितिका प्रमुख सापकोटाले वताउनुभयो ।
शनिवारको बैठकले जिल्ला स्थित सञ्चार माध्यमहरुबाट कोभिड–१९ बारे तथ्यपरक जानकारी दिन पाँचथर जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. वुद्धिबहादुर थापाको संयोजकत्व तीन सदस्यीय चिकित्सकहरुको फोकल टिम समेत निर्माण गरेको छ । समितिमा समर्पित अस्पतालका डा. पुस्कर निरौला र पाथीभरा अस्पतालका डा. पीके सिंह सदस्य रहनुभएको छ ।