सवारी दुर्घटनामा एकको मृत्यु, १५ जना घाइते



फिदिम, ६ चैत

पाँचथरमा बुधबार भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

बुधवार दिउँसो फिदिमबाट नांगीन जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप फिदिम नगरपालिका–११ तृतियामा सडकबाट करीब ५० मिटर झरेर दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक फिदिम नगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय बलबहादुर राई छ ।

उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको पाँचथर जिल्ला अस्पताल तथा छ जनाको नांगीन स्वास्थ्य चौकी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

यस्तै बुधवार विहान जिल्लाको तुम्बेवा गाउँपालिका–२ सान्दानेमा मौवा बजारबाट धरान जाँदै गरेको ना १ ज ५२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करीब दुई सय मिटर तल झर्दा छ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तुम्बेवा–२ का ५८ वर्षीय मरिचमान लावती, ४० वर्षीय गजेन्द्र लावती र ४२ वर्षीय श्रीप्रसाद लावती गम्भीर घाइते भएका हुन् । दुर्घटनामा सवारी चालक धनकुटाको भेडेटारका चन्द्र मगर, तुम्बेवा–४ की लुम्दामाया साँवा र तुम्बेवा–३ की रणमाया लावती सामान्य घाइते भएको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्