वीरइन्द्र रंगशालाको निर्माण कार्य धमाधम



युद्धबहादुर बोहोरा
घुर्विसेपञ्चमी, ५ चैत

फाक्तेप युथ क्लब (पिवाइसी) को पहलमा फाल्गुनन्द–५ सिङ्गहाङ्गमा रहेको पिवाइसी वीरइन्द्र रंगशालाको निर्माण कार्य अहिले धमाधम भइरहेको छ ।

पूर्वी पहाडको नमूना रंगशाला निर्माण गर्ने उद्देश्यले २५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न रंगशाला निर्माणको आयोजना सञ्चालन गरिएको बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको सांसद विकास कोष मार्फत १५ लाख र वडा कार्यालयबाट दुई लाख गरी जम्मा १७ लाख रुपैयाँको लगानीबाट निर्माणको काम थालिएको क्लब तथा निर्माण उपभोक्ता समिति अध्यक्ष पञ्चकुमार चेम्जोङले जानकारी दिनुभयो ।

११५/७० मिटर फराकिलो प्रारम्भिक निर्माणको लागि मुकुम्लुङ्ग कन्स्ट्रक्सन प्रा.लि. एलएमबि निर्माण सेवाले जिम्मा लिएको काम अन्तिम चरणमा पुगेको समितिले बताएको छ ।

आगामी १५ वर्ष सम्ममा ग्रामीण क्षेत्रको अत्याधुनिक सुविधा सहितको रंगशाला तयार गर्न जम्मा ४५ रोपनी जग्गाको र करिब २० करोड लगानी लाग्ने डिपिआर तथा प्राविधिक पक्षको अनुमान गरेको समिति सचिव भीमप्रसाद चेम्जोङले बताउनुभयो ।

गत मङ्सिर ७ गते १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ द्वारा शिलान्यास भएको यस रंगशालालाई आवश्यक बजेट प्रदेश तथा संघीय सरकारबाट उपलब्ध गराउन पहल गर्ने मन्त्री आङ्बोले प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्