कोरोनाभाइरस सङ्क्रमण भएपछि यसले मानिसको शरीरमा के गर्छ ?



गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड–१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ । कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ ।

यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको जान्छ ? यसको उपचार कसरी भइरहेको छ त?

सङ्क्रमणकाल

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ । त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् ।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ । दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् ।

तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन् । प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न । केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन । भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ ।

सामान्य रोग

अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ । कोभिड–१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो । उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ । शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन् । तर ती लक्षण देखिन्छन् नै भन्ने छैन ।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो । यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ । तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ । कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ । त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन् । केही मानिसलाई खकार पनि आउन थाल्छ ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ । प्यारासिटामोल पनि दिइन्छ । यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन । एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ । तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।

अहिलेसम्म हामीले बुझेको यत्ति नै हो । तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ ।

गम्भीर रोग

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ । तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ । धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ ।

“भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ” किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मट भन्छिन् । फोक्सोमा हुने जलन नै निमोनिया हो । मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ ।

त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ । तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ । यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ । चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बिरामी यस्तो अवस्थामा पुगेका छन्।

अतिगम्भीर रोग

बिरामी भएका छ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको छ । यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ । यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ ।

यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ । फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन । त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ ।

“भाइरसले यति धेरै जलन गराउन थाल्छ कि तपाईँको धेरै अङ्गहरूले काम गर्न छोडिदिन्छन्” डा. भरत पाखानियाले भने । यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्याउन थाल्छ ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ । यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ । त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ । तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ । त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन् ।

चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन् । वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ । स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।

पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए । उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो । अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको ज्यान गयो ।

अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए । उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको थियो । उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो । तर त्यो पर्याप्त भएन । गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भयो । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्