एसईई परीक्षा स्थगित, परीक्षार्थी र अभिभावकमा अन्यौल



उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भन्नुभएको छ, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ ।”

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उहाँले बताउनुभयो । एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए ।

परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो । बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो ।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो ।

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो ।

परीक्षा स्थगनसँगै परीक्षार्थी र अभिभावकहरु भने अन्यौलमा परेका छन् । कतिपयले कोभिड–१९ को संक्रमण सुरु भइसकेका कारण सरकारले हतारोमा परीक्षा स्थगन गरेको भन्दै आशंका ब्यक्त गरेपनि नेपालमा हालसम्म उक्त रोगका संक्रमति भेटिएका छैनन् ।

परीक्षाको सम्पूर्ण तयारी पूरा भइसक्दा ठूलो धनराशी खर्च भएको, विद्यार्थीहरु समेत मनोवैज्ञानिक रुपमा परीक्षामा सामेल हुन तयार भइसक्दा परीक्षा रोकिँदा यो रोगको महामारीबारे झनै भ्रम उत्पन्न हुने भन्दा कतिपयले निर्णयमा भएको ढिलाईको आलोचना समेत गरेका छन् ।

यद्यपी उक्त रोगको संक्रमणबाट बच्न सरकारले ढिलै भएपनि उपयुक्त निर्णय लिएको भन्दै धेरैले सरकारी निर्णयको बचाउ गर्दै आ–आफ्नो ख्याल राख्न अपील गरेका छन् । (बीबीसी नेपालीको सहयोगमा तयार)

प्रतिक्रिया दिनुहोस्