चार महिना नवित्दै मन्त्री नेम्वाङको कामले खिच्यो सबैको ध्यान



फिदिम, ३ चैत

प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई कार्ययोजना निर्माण गर्न अह्राए । प्रधानमन्त्री ओलीको निर्देशनपछि मन्त्रीहरुले योजना निर्माण गरेर कार्यान्वयनमा लागे । तर, सवै मन्त्रीहरुको काम प्रधानमन्त्रीलाई चित्त बुझेन ।

भौतिक योजना तथा यातायात मन्त्रालयको कामको बारेमा त सार्वजनिकरुपमा नै आलोचना भईरहेको थियो । सो आलोचनालाई मत्थर पार्न तत्कालिन मन्त्री रघुबीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएसँगै मन्त्री नेम्वाङको कामको प्रशंसा हुन थालेको छ ।

सुधारको प्रयास

दुई वर्षसम्म पनि भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा खास सुधार भएन । प्रधानमन्त्री केपी ओलीले कामबाट परिणाम ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हटाए । जिम्मेवारी लिएको छोटो समयमा नेम्वाङले अघि बढाएको काम र उपत्यकाको सडकमा देखिएको सुधारले आम नागरिकमा आशाको सञ्चार गरेको छ । काम बढी, प्रचार कम भन्ने मान्यताका साथ उनले थालेको अभियानबाट उपत्यकाबासी सरकारप्रति ठूलै आशा गर्ने अवस्थामा पुगेका छन ।

नेम्वाङको काममा फरक अनुभूति गर्ने अन्य थुप्रै सवारी चालकदेखि पैदलयात्री पनि छन् । कामबाटै परिणाम दिएको कारण यतिबेला सडकमा हिड्ने पैदलयात्रीदेखि सवारी चालकसम्मलाई भौतिक पूर्वाधारमन्त्री नेम्वाङप्रति आशा जागेको छ । त्यस कारण पनि सामाजिक सञ्जालमा मन्त्री नेम्वाङलाई राम्रा प्रयासहरु थालेको भन्दै प्रशंसा हुन थालेको हो ।

यो अवधीमा राजधानीका सडकहरुमा व्यापकरुपमा खाल्डाखुल्डी पुरिएको छ । धूलोधूवाँ पनि निकै कम भएको छ । धेरै वर्षदेखि काम नगरेका सडकका ट्राफिक लाइटहरु बल्न थालेका छन । एक वर्षदेखि स्मार्ट लाइसेन्स नपाएकाहरुलाई केही वितरण गरिएको छ । विगतभन्दा केही आशावादी काम भएपछि मन्त्री नेम्वाङलाई हल्ला कम, काम बढी गर्ने मन्त्रीको रुपमा चित्रित पनि गर्न थालेका छन ।

मन्त्री नेम्वाङले मन्त्रालयभित्र पनि सुधारका काम गरेका छन् । सवै कर्मचारी अघिल्लो मन्त्रीको पालामा भन्दा सहज रुपमा काम गर्न पाएको भन्दै उनको योजनामा सघाइरहेका छन । यहाँका कर्मचारीहरुका अनुसार मन्त्री नेम्वाङले पारदर्शी रुपमा काम गर्न खोजेको देखिन्छ । मन्त्रालयबीच समन्वय प्रभावकारी भएकोले भौतिक पूर्वाधारका क्षेत्रमा पनि निकै काम अघि बढेका देखिन्छ ।

पूर्व प्रशासकको प्रशंसा

नेम्वाङ मन्त्री बनेको केही दिन पछि पूर्वअर्थसचिव रामेश्वर खनालले सामाजिक सञ्जालमा सकारात्मक प्रतिकृया दिए । खनालले नेम्वाङको कामको प्रभाव सडकमा देखिएको भन्दै प्रशंसा पनि गरे ।

बर्तमान मन्त्रिपरिषदमा राम्रो काम गरेको भन्दै बर्तमान कर्मचारीले पनि मन्त्री नेम्वाङको प्रशंसा गरेका छन् । मंसिर ५ मा वसन्तकुमार नेम्वाङले मन्त्रीको रुपमा शपथ लिएका थिए । मन्त्री नेम्वाङले तीन महिना पूरा गरेका छन् । यो अवधिमा उनको नकारात्मक भन्दा सकारात्मक चर्चा भएको छ ।


ट्वीटरमा पूर्वअर्थसचिव रामेश्वर खनालले खनालले लेखेका थिए – ‘भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना खेरा फालेछ । द्रष्टव्यः यो टिप्पणी हाल सड़क सुधारमा भएको कामको बाह्य अवलोकनमा आधारित’ पूर्वअर्थसचिव खनालले भनेजस्तो भौतिक योजना तथा पूर्वाधारमन्त्री नेम्वाङले देखिने गरेर सुधारको प्रयास थालेका छन् ।

कर्मचारीको सरुवादेखि विकास निर्माणका आयोजनामा यस अघि यो मन्त्रालय बिवादित थियो । विकास निर्माणमा सबैभन्दा ठूलो बजेट हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरकारले जनतालाई विकासको महशुस गराउने मन्त्रालय हो ।

अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सामाजिक सञ्जाल ट्वीटरमा लेखे, ‘अहिलेका भौतिक पूर्वाधार मन्त्रीको कार्य जिम्मेवारी प्रतिको चासो, खटाई एवं सक्रियता हेर्दा केही गर्लान जस्तो छ । यसैगरी अगाडी बढेमा सबै तिरबाट साथ सहयोग पाइने छ । शुभकामना ।’ मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रारम्भिक काममा जसरी भौतिक पूर्वाधारमन्त्री नेम्वाङले काम गर्दै छन् त्यसलाई निरन्तरता दिएमा अधुरा आयोजनाहरु पुरा हुने र जनताले विकासको महशुस गर्न सक्ने छन् ।

विगतको भन्दा यो पटक मन्त्रीले फरक तरिकाबाट काम गरेको देखिएको छ, त्यो कर्मचारीको सरुवामा होस् या आयोजनाको अगाडि बढाउने काममा किन नहोस् । एक सय दिन नबित्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयमा उनले प्रारम्भिक रुपमा केही राम्रा कामको संकेत गरेका छन् ।

‘लो प्रोफाइल’ जाग्दो आशा

पार्टीमा लो प्रोफाइल बसेर काम गरेका नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानका प्रमुख खम्बा हुन् । यो वर्ष भौतिकको बजेट साढे १ खर्ब बढी रुपैयाँको बजेट छ । सरकारले हासिल गर्ने आर्थिक बृद्धिदर तथा विकास गतिमा भौतिक पूर्वाधार मन्त्रालयमा भूमिका सबैभन्दा बढी नै हुन्छ ।

मन्त्रीको कुर्सीमा बस्नेबित्तिकै ठूला–ठूला आयोजना र परियोजनामा लोभ्याउने अधिकांश मन्त्रीहरुभन्दा नेम्वाङ केही फरक देखिए । उनले भएकालाई व्यवस्थापन गर्ने बाटो समाएका कारण पनि सकारात्मक देखिएको हो । सडकबत्तीहरु बल्नु, ट्राफिक व्यवस्थापन चुस्त बन्नु, सडकका खाल्टाखुल्टी पुरिनु नेम्वाङका कामको सकारात्मक पाटा हुन् ।

भएका पूर्वाधारको स्तरोन्नति र व्यवस्थापन गर्ने उनको अठोट काममै देखिनथालेको भन्नु जायज देखिन्छ । मन्त्रीको ससाना काममा गएको ध्यानले जनतालाई राहत दिनथालेको छ । आममानिसमा आशा जाग्न थालेको देखिन्छ । सामाजिक सञ्जालमा आउने प्रतिक्रियामा पनि त्यहि झल्किन्छ ।

सडक कालोपत्रे हुनलागेको खबरमा उत्साह जनाउँदै साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले पनि मन्त्रीको प्रशंसा गरेका छन् । जोरपाटी क्षेत्रको सडक सुधारका बिषयमा दीक्षितले ईंगित गरेका छन् ।

गम्भीर घाइते, दीर्घकालीन उपचार गर्नुपर्ने गरी शारिरिक अपांगता भएकाहरु लगायतको उपचार गर्ने नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटीमैं रहेको हुँदा अस्पतालसम्म जानुपर्ने त्यस्ता व्यक्तिहरुको आवतजावतलाई जीर्ण बाटोले वर्षौंदेखि निकै सकसपूर्ण बनाएको र मन्त्रीको सुधारको कामले केही सहजता दिलाएको उनको भनाई छ ।

नयाँ काम भन्दा पनि भएको चिजको ब्यवस्थापन आवश्यक हुने उदाहरणको रुपमा मन्त्री नेम्वाङ परेका छन् । त्यसोत व्यवस्थापनको पाटो पनि उत्तिकै महत्वपूर्ण हो । साना कुरामा राम्रोसँग ध्यान दिन सकेमा पनि धेरै कुरा सुध्रिँदै जाने निश्चित पनि हो । यस्तै योजनामा मन्त्री रहेको उनको कामले बताउँछ ।

सहजता जनताको चाहना

सहज सवारी आवागमनदेखि पैदल र साइकल यात्रुमैत्रीसम्म मात्र नभई सवारीसाधनले सहजता खोजेका छन् । साथै यस्ता चिजले वातावरणमा पारेको प्रभावसम्म ख्याल गरेर काम गरेको धेरै ठूला परियोजनाको आवश्यतानै पर्दैन । सुरक्षित रुपमा हिँड्न पाउने नागरिकको आधारभूत हक हो । रातको समयमा सहरमा हिँड्न सडक बत्ति नहुनु दुखद बिषय हो । ती बत्ती पनि बलनु पर्छ । यात्रुको सुरक्षा ग्यारेन्टी हुनु पर्छ ।

कुनै पनि कुराको परिणाम देखिनको लागि मन्त्रीको निर्देशन मात्रै दिँदा काम हुँदैन । मन्त्रालयमा बसेर ठूला–ठूला कुरा गर्नुभन्दा भएका कुरालाई व्यवस्थित गर्दै लानुपर्ने उदाहरण मन्त्रीको कामले देखाएको छ । हिजो भएको पूर्वाधारलाई राम्ररी व्यवस्थित गर्न सकेमात्र पनि राम्रो नतिजा देखिन सक्छ ।

प्राथमिकताका काम

बिभिन्न समयमा मन्त्री नेम्वाङले ब्यक्त गरेको चाहना हेर्ने हो भने पनि धेरै ठूला योजना छैनन् । एक तहको कालोपत्रे पहिलो प्राथमिता देखिएको छ । गाडी जाम हुने स्थानमा फ्लाई ओभरको आवश्यकता हुन्छ र यस तर्फ सामान्य काम मात्र भएपनि राम्रो प्रभाव पर्ने छ ।

साथै सरकारले रेल सञ्चालन गर्ने योजना बनाएको छ र यो पनि मन्त्री नेम्वाङकै काममा पर्दछ । यो काम भएमा मात्र पनि मन्त्रीको कामको सकारात्मक प्रभाव पर्ने छ । नेपालमा रेल गुड्छ भन्दा उडाउने वा हाँस्नलाई गतिलो जवाफ यो काम गरेमात्र पनि हुनेछ ।

विकास निर्माणको लागि बजेट विनियोजनभन्दा पनि परियोजना कार्यान्वयनमा समस्या छ । एकै पटक धेरै योजना सुरु गर्ने परिपाटीले समस्या पारेको हो । यसलाई पनि चिर्नु पर्ने आवश्यकता छ । त्यसोत विज्ञको सुझाव र मन्त्रीको कार्यशैलीमा पनि तालमेल मिल्ने संकेत देखिन थालेको छ ।

नेपालमा सवैभन्दा धेरै सडक समस्या छ । सडक समस्या समाधानका लागि मन्त्रीले ठूला परयोजना भन्दा पनि नीतिगत निर्णय र भौतिक सुधार गर्नु आवश्यक छ । राष्ट्रिय राजमार्ग मर्मतसम्भार सुधार हुनुपर्छ । सडक दुर्घटनामा धेरै नेपालीहरुको ज्यान गइरहेको छ ।

पक्की गरेर मात्रै सडक सुरक्षा हुँदैन । त्यसको लागि ट्राफिक लाइट राख्ने, ट्राफिक संकेत राख्ने र सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्छ । नेपालमा नयाँ सडक बनाउनुभन्दा पनि भएकालाई स्तरोन्नति गर्ने, दूरी घटाउने, घुम्ती भएको ठाउँ र पहिरो जाने ठाउँमा सुरुङ बनाउने योजनाका साथ अघि बढ्नुपर्छ । (जनप्रशासन पाक्षिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्