हिलिहाङ गाउँपालिकाको छैटौँ गाउँसभा सम्पन्न



फिदिम, २ चैत

विभिन्न छ वटा ऐन तथा कार्यविधिहरु पास गर्दै पाँचथरको हिलिहाङ गाउँपालिकाको छैठौँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले करीब रु. ३ करोड बजेट रकमान्तर समेत गरेको छ ।

हिलिहाङ गाउँपालिका नै पुख्र्यौली थलो रहेका वागमती प्रदेशका प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले गाउँसभाको उद्घाटन गर्नुभएको थियो । गाउँसभालाई जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा सहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु लगायतले सम्बोधन गरेका थिए ।

गाउँसभाले गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु, वडाबाट सञ्चालन हुने योजनाहरु तथा गाउँपालिकाका विषयगत शाखाबाट सञ्चालन हुने योजनाहरुको संशोधन गर्दै बजेट फेरबदल गरेको हो । करीब रु. ३ करोड बजेट रकमान्तर गरिएको गाउँपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिनुभयो ।

गाउँसभाको उद्घाटन समारोहमा चालु आर्थिक वर्ष २०७६/०७७ को आधा समयावधिमा गाँउपालिकाले सञ्चालन गरेका योजनाहरु तथा चालु आ.व.का योजना तथा कार्यक्रमहरुका विषयमा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी गराउनुभएको थियो । गाउँसभामा चालु आ.व.को आधा समयको समीक्षा समेत भएको थियो ।

गाउँपालिकाले विकास निर्माणका योजनाहरुलाई जेठ १५ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य समेत लिएको छ । सोही लक्ष्यअनुसार काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार विषयगत शाखाको बजेट कार्यान्वयनमा समस्या पर्दा ठूलो अङ्कमा बजेट रकमान्तर गर्नु परेको हो ।

हिलिहाङ गाउँपालिकाले ‘कृषि, उर्जा, पर्यटन र प्रविधिः हिलिहाङ गाँउपालिको समृद्धि’ भन्ने मूल मन्त्रका आधारमा विकास निर्माणका योजनाहरु अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्