याङवरक गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न



फिदिम, २ चैत

पाँचथरको याङवरक गाउँपालिकाको छैटौं हालै सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न गाउँसभाले उपाध्यक्ष कमलकुमारी योङहाङले पेश गर्नुभएको विभिन्न प्रस्तावहरु सर्वसहमतिले पारित गरेको छ ।

उक्त गाउँसभाले गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनादेखि घुम्ती ब्यवसायलाई समेत करको दायरामा ल्याउने प्रस्ताव पारित गरेको छ । गाउँसभाले रुखको गोलिया कारोबार, जडिबुटी ब्यवसाय, जलविद्युत आयोजना, घुम्ती÷पटके ब्यवसाय, निकासी हुने अम्रिसो, खयर, गोलिया, फेन्टा, लोठसल्ला, जडिबुटी, रुख तथा ढुङ्गाको झ्याउ, अर्गेली÷लोक्ता, ब्यवसायिक प्रयोजनको दाउरा, बाँस लगायत वस्तुको ब्यवसाय दर्ता र नवीकरण शुल्क तय गरेको हो ।

गाउँपालिकाले उक्त गाउँपालिकाको आर्थिक ऐन २०७६ लाई संशोधन गर्दै यी वस्तुको ब्यवसायलाई समेत करको दायरामा ल्याएको हो । नयाँ करको दायराले ब्यवसायलाई मात्रै समेट्ने र कृषकहरुलाई कुनै प्रभाव नपर्ने गाउँपालिकाकी उपाध्यक्ष एवम् राजश्व परामर्श समितिकी संयोजक कमलकुमारी योङहाङले जानकारी दिनुभयो ।

गाउँपालिकाले जलविद्युत आयोजनातर्फ पाँच मेगावाटसम्म दर्ताका लागि रु. ३० हजार र नवीकरण रु. १० हजार, १० मेगावाटसम्म दर्ताका लागि रु. ७० हजार र नवीकरणका लागि रु. ३५ हजार, २० मेगावाटसम्म दर्ताका लागि रु. एक लाख २० हजार र नवीकरणका लागि रु. ६० हजार, ३० मेगावाटसम्म दर्ताका लागि रु. दुई लाख र नवीकरणका लागि रु. एक लाख तथा ३० मेगावाटभन्दा माथिका आयोजनाको दर्ताका लागि रु. दुई लाख ५० हजार र नवीकरणका लागि रु. एक लाख ५० हजार शुल्क निर्धारण गरेको हो । उक्त गाउँपालिकामा दुई वटा जलविद्युत आयोजना सञ्चालनमा छन् ।

गाउँपालिकाले केरियरमार्फत गरिने ब्यवसाय, पोका बोकी गरिने ब्यवसाय, गाउँपालिका भित्रबाट ब्यवसायिक रुपमा गरिने स्थानीय उत्पादन निकासीको ब्यवसायलाई करको दायरामा ल्याएको हो । यस्तै रु. २ करोडभन्दा माथिको सम्पत्तिको करको दर समेत गाउँसभाले निर्धारण गरेको गाउँपालिकाका प्रवक्ता विमल राईले जानकारी दिनुभयो । गाउँसभाले चालु वार्षीक बजेट तथा कार्यक्रममा केही संशोधन समेत गरेको छ ।

जसअनुसार वडा नं. १ मा सात वटा, वडा नं. २ मा चार वटा, वडा नं. ३ मा पाँच वटा, वडा नं. ४ मा २७ वटा, वडा नं. ५ मा छ वटा र वडा नं. ६ मा ७ वटा योजना तथा बजेट संशोधन गरिएको छ । यस्तै गाउँपालिकाका विषयगत इकाईको आवश्यकताका आधारमा योजना संशोधन गरिनुका साथै बजेट थपघट गरिएको छ । यस्तै अध्यक्षबाट स्वीकृत भएका तीन वटा योजनाको स्वीकृति र साविक स्थानीय निकायमा कार्यरत रहि हाल गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलवी प्रतिवेदन गाउँसभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्