

फिदिम, २ चैत
पाँचथर सेवा समाज दक्षिण कोरियाले पाँचथरका अपाङ्ग तथा असाहाय ब्यक्तिहरुको सहयोगका लागि रु. १२ लाख रकम वितरण गरेको छ ।
दक्षिण कोरियामा कार्यरत पाँचथरवासीहरुको उक्त संस्थाले यहाँका आठ वटा स्थानीय तहबाट वितरण हुने गरी उक्त रकम स्थानीय तहलाई हस्तान्तरण गरेको हो । संस्थाले सङ्कलन गरेको उक्त रकम रु. १ लाख ५० हजारका दरले सबै स्थानीय तहहरुलाई वितरण गरिएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राजेन्द्र चेम्जोङले जानकारी दिनुभयो ।
सन् २०१४ मा स्थापित उक्त संस्थाले यसअघिबाटै जिल्लाका दैवी विपत्तिका घट्ना तथाका पीडितहरु, ठूलो धनराशी खर्च गरी उपचार गर्नुपर्ने विपन्न आर्थिक अवस्थाका विरामीहरु लगायतलाई सहयोग गर्दै आएको छ ।
पछिल्लो पटक यहाँका अपाङ्गता भएका ब्यक्तिहरु त्था जिविकोपार्जनमा समस्या भोगिरहेका असाहाय ब्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले उक्त संस्थाले दक्षिण कोरियामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको संस्थाकी कोषाध्यक्ष सपना सेलिङले वताउनुभयो ।
गत सेप्टेम्बर १३ मा दक्षिण कोरियाको सिओलमा आयोजित कार्यक्रमबाट सङ्कलित उक्त रकम स्थानीय तह र उक्त संस्थाले आपसी समन्वयमा लक्षित समुदायलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । उक्त संस्थाले रोजगारीका लागि दक्षिण कोरिया गएका पाँचथरवासी तथा अन्य नेपालीहरुका समस्या समाधानमा समेत पहल गर्दै आएको छ ।