

फिदिम, १ चैत २०७६
पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूमा कोरानोभाइरस परीक्षण सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
नेपाल र भारतको सिक्किम जोड्ने चिवाभञ्ज्याङ नाकाबाट ओहोर–दोहोर गर्ने यात्रुलाई लक्षित गरी आजबाट सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । पाँचथरको याङवरक गाउँपालिकाको ब्यवस्थापनमा उक्त सहायता कक्ष स्थापना भएको हो । चिवाभञ्ज्याङ नाकाको प्रयोग गरी पारिवारीक भेटघाट, पशुपंक्षी तथा सामान ओसार–पसार हुने गरेको छ ।
च्याङथापू हुँदै पैदल यात्रुहरु नाकामा आवत–जावत गर्ने भएकाले उक्त स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिनुभयो ।
चिवाभञ्ज्याङ नाकाबाट ओहोर–दोहोर गर्ने यात्रुहरुमा उक्त रोगको सङ्क्रमणबारे सचेतना फैलाउने, उक्त रोगसँग मिल्ने लक्षण देखिने विरामी भेटिए विशेष निगरानी गरी परीक्षण र उपचारमा पठाउन मद्दत गर्ने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको हो ।
भारतमा समेत कोरोनाभाइरस (कोभिड–१९)का विरामीको संख्यामा बढ्न थालेका कारण चिवाभञ्ज्याङ नाकाबाट ओहोर–दोहोर गर्ने यात्रुलाई विशेष निगरानी गर्न उक्त सहायता कक्ष स्थापना गरिएको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो ।
सहायता कक्षले अत्यावाश्यक काम बाहेक कोभिड–१९को प्रकोप रहेसम्म भारतको भ्रमण नगर्न यात्रुहरुलाई सचेत गराउने, सीमा क्षेत्रमा कोभिड–१९को प्रकोप तथा सचेतनाका उपायबारे सचेतना फैलाउने र कोभिड–१९सँग लक्षण मिल्ने विरामी भेटिए तत्काल विशेष निगरानी गरी माथिल्ला निकायमा जानकारी गराउने याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ वताउनुभयो ।
सहायता कक्षबाट स्थानीयवासीका लागि दैनिक सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । सहायता कक्षमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म स्वास्थ्यकर्मी रहनेछन् । स्वास्थ्यकर्मीहरु यहाँको च्याङथापू स्वास्थ्य चौकी र फलैँचा स्थित सामुदायिक स्वास्थ्य इकाईबाट खटाइएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

नेपालीभाषी बाहुल्य भारतको सिक्किम राज्य तथा पश्चिम बंगालको पहाडी क्षेत्रसँग पाँचथर र ताप्लेजुङका स्थानीयको पारिवारीक सम्बन्ध, पशुपंक्षी खरिद विक्री, खाद्यान्न लगायत सामान खरिद विक्री हुने गरेको छ ।
पछिल्ला दिनमा समेत पारिवारीक भेटघाटका लागि दैनिकजसो नेपालीहरु सिक्किम जाने गरेका छन् भने सिक्किम र दार्जिलिङवासी समेत नेपाल आउने गरेको सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायव निरीक्षक बज्रबहादुर राईले जानकारी दिनुभयो ।
“भारतमा कोभिड–१९को प्रकोप बढ्दै गएकाले सीमा नाका प्रयोग नगर्न यात्रुहरुलाई सचेत गराउँदै आएका छौँ”, राईले भन्नुभयो, “विरामीसँग भेटघाट गर्ने, विवाह, मृत्युजस्ता साँस्कृतिक कार्यमा आवत–जावत गर्नेहरु बढि हुन्छन् । रोक्न मिलेन ।”
नेपाल–सिक्किम सीमा नाका चिवाभञ्ज्याङ सुरक्षा निकायको उपस्थिति तथा मानव वस्तीभन्दा निकै टाढा छ । सीमा प्रहरी चौकी र सीमा प्रशासन कार्यालय रहेको च्याङथापूबाट उक्त नाका २६ किलोमिटर दूरीमा छ ।
प्रहरीसँग प¥याप्त सवारीसाधन र जनशक्ति नहुनु तथा सीमा क्षेत्रमा स्थापना गर्ने भनिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा क्याम्प स्थापना नहुनुले उक्त सीमा नाकाको सुरक्षा अवस्था निकै नाजुक रहेको सीमा प्रहरी चौकीका प्रमुख राईको भनाई छ ।
हेल्प डेक्स शुक्रवार उद्घाटन गरिएको थियो । याङवरक गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलको अध्यक्षतामा आयोजित हेल्प डेक्स उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरे, उपाध्यक्ष योङहाङ, प्रमुख प्रशासकीय अधिकृत आचार्य, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीहरु, विद्यार्थी तथा शिक्षकहरु, स्थानीयवासीहरु लगायतको उपस्थिति थियो ।