गाँउ–गाउँ पुगेर बहुक्षेत्रीय पोषणको प्रगति हेर्दै युरोपियन राजदूत



फिदिम, ३० फागुन

बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रगति अवलोकन गर्न युरोपियन युनियनकी राजदूत भेरोनिका कोडी यहाँका गाँउसम्म पुग्नुभएको छ । युरोपियन युनियनको विकास साझेदार युनिसेफकी नेपाल प्रतिनिधि इल्की विजका साथ पाँचथरको याङवर र हिलिहाङ आइपुग्नुभएका राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यान्वयनको अवस्था र उक्त कार्यक्रमको प्रभावका बारेमा स्थलगत अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा राजदूत कोडीले अझैपनि नेपालमा पोषणको अवस्था कमजोर रहेको तथ्याङ्कलाई ध्यान दिन स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । “विकासका दृष्टिले प्रदेश नं. १ ले नेपालमा पोषणको अवस्था सुधारमा नेतृत्व गर्नुपर्ने हो । तर त्यस्तो अवस्था देखिएन्”, राजदूत कोडीले भन्नुभयो, “पोषण अभावको शारिरीक प्रभाव त छँदै छ, शिक्षा, स्वास्थ्य र विकासमा समेत यसको प्रभाव देखिने गरेको छ ।”

अझैपनि बाल विवाह रहनु, आमाहरुमा शिक्षाको अभाव हुनु, खानेपानी तथा सरसफाईको अवस्थामा उल्लेख्य सुधार नहुनुले नेपालमा पोषण तथा सरसफाईको क्षेत्रमा धेरै काम बाँकी रहेको देखाएको उहाँको भनाई छ ।

राजदूत कोडीले हिलिहाङ र याङवरकका स्वास्थ्य संस्थाहरुको अवस्था, तिनको सेवा प्रवाहको अवस्था, स्थानीय तहले बहुक्षेत्रीय पोषण प्रवद्र्धनमा गरेको लगायत लगायतका विषयमा राजदूत कोडीले विशेष चासो राख्नुभएको थियो ।

सबै पक्षले बहुक्षेत्रीय पोषण कार्यक्रमको महत्व बुझ्दै गएकाले आगामी दिनमा समेत उक्त कार्यक्रम निरन्तर हुनसक्ने विषयमा आफू सकारात्मक रहेको राजदूत कोडीले वताउनुभयो । पाँचथर सहित प्रदेश नं. १ का उदयपुर र खोटाङ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा रहेको युनिसेफ नेपालका कार्यक्रम प्रमुख ज्ञानु भुजेलले जानकारी दिनुभयो ।

युनिसेफकी नेपाल प्रतिनिधि इल्की विजले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका महिला तथा बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने मात्रै नभई उनीहरुको भविश्य समेत राम्रो बनाउने प्रयत्नमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालमा स्थानीय तहको सरकारले आफूहरुले अपेक्षा गरेभन्दा राम्रो काम गरिरहेको पाइएको वताउनुभयो । राजदूत कोडी, युनिसेफ प्रतिनिधि विज लगायतको टोलीले दुई गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका पदाधिकारी लगायतसँग समेत अन्तक्र्रिया गरेको थियो ।

जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बहुक्षेत्रीय पोषण कार्यक्रमबाट प्राप्त भइरहेको बजेट जत्तिकै बजेट स्थानीय तहबाट समेत विनियोजन भइरहेको र याङवरकलाई कुपोषणमुक्त गाउँपालिका निर्माण गर्ने प्रयत्न भइरहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा समेत उक्त कार्यक्रमको निरन्तरता आवश्यक रहेको वताउनुभयो ।

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले शून्य होम डेलिभरी र शून्य मातृशिशू मृत्युदर निर्माणका लागि गाउँपालिकाकाले प्रयत्न गरिरहेको वताउनुभयो । बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावले आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकालाई थप क्रियाशील गराइएको अध्यक्ष लिङदेनले वताउनुभयो ।

याङवरक गाउँपालिकामा आयोजित अन्तक्र्रियामा गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ तथा स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले बहुक्षेत्रीय पोषणको अवस्था, बहुक्षेत्रीय पोषण कार्यक्रमको निरन्तरताको आवश्यकता लगायत विषयमा जानकारी गराउनुभएको थियो ।

यस्तै हिलिहाङ गाउँपालिकामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बू तथा स्वास्थ्य शाखाका प्रमुख चन्द्र घिमिरेले बहुक्षेत्रीय पोषण कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

याङवरक—६ मुकुबुङमा राजदूत कोडीले भान्सा तथा करेसाबारीको ब्यवस्थापनको अवस्था, सुत्केरी तथा गर्भवती आमाको आहारको प्रवन्ध लगायतका विषयमा स्थानीयका घरैमा पुगेर स्थलगत अवलोकन समेत गर्नुभएको थियो । सो क्रममा उहाँहरुलाई स्थानीयले गुराँस तथा स्थानीय प्रजातिका फूलका माला, साँस्कृतिक झाँकी सहितले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्