

फिदिम, २७ फागुन
याक्थुङ प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षीक कार्यक्रमअनुसार सोमवार चार जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
लिम्बू (याक्थुङ) भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने श्रष्टाहरु मध्येबाट यस वर्ष रुपलाल खाम्दाक (सिक्किम), हर्कबहादुर खाम्दाक (सिक्किम), डिल्लिश्वर मुसाहाङ (पाँचथर) र टेकबहादुर योङहाङ (झापा) सम्मानित भएका हुन् । प्रतिष्ठानले फिदिममा आयोजना गरेको कार्यक्रममा सम्मानपत्र र नगद प्रमुख अतिथि प्रेम ओझाले हस्तान्तण गर्नुभयो ।
नेपाली तथा लिम्बू भाषा साहित्यमा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएका रुपलाल खाम्दाकलाई ‘बमजय स्मृति साहित्य पुरस्कार’ प्रदान गरियो । आफ्ना बावुआमा बमप्रसाद र जयमायाको नाममा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू र उहाँका भाई रवीन्द्रकुमार जवेगूले उक्त पुरस्कार स्थापना गर्नुभएको हो । याक्थुङ प्रज्ञा प्रतिष्ठानले वितरण गर्ने उक्त पुरस्कारको राशी रु. १५ हजार रहेको छ ।
यस्तै सिक्किमका बरिष्ठ पत्रकार एवम् नेपाली तथा लिम्बू भाषा साहित्यका अग्रणी ब्यक्तित्व हर्कबहादुर खाम्दाक ‘याक्थुङ नाल्बो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभयो । यहाँका सेसेमी से नाल्बोले प्रतिष्ठानले सञ्चालन गर्ने गरी स्थापना गर्नुभएको उक्त पुरस्कारको राशी रु. १६ हजार रहेको छ ।
यस्तै मलिसा याक्थुम्बा, सुन्दर नेम्वाङ र मनकुमार नेम्वाङले स्थापना गर्नुभएको ‘सुभाष फेजुङ नेम्वाङ नवोदित साहित्य पुरस्कार’बाट पाँचथरकै डिल्लीश्वर मुसाहाङ पुरस्कृत हुनुभयो । रु. ५ हजार राशीको उक्त पुरस्कार लिम्बू भाषा साहित्यमा योगदान गर्ने उदयमान साहित्यकारलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यस्तै प्रतिष्ठानले प्रदान गर्ने ‘यम्बुगेन नाजम’ (याक्थुङ प्रज्ञा प्रतिष्ठान सम्मान) झापाका टेकबहादुर योङहाङले प्राप्त गर्नुभयो । योङहाङ पनि लिम्बू भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।
यहाँका लिम्बू कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण सक्रिय अगुवाहरुद्वारा स्थापित याक्थुङ प्रज्ञा प्रतिष्ठानले श्रष्टा सम्मानका अतिरिक्त लिम्बू भाषा साहित्यको वृहत्तर विकासको प्रयत्न गर्दै आएको छ । यसै क्रममा प्रतिष्ठानले लिम्बू भाषामा विधागत कृति प्रकाशन, मौलिक साहित्यको प्रवद्र्धन र खोजी गर्दै आएको प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूले वताउनुभयो ।