२७ वर्षपछि सडक कालोपत्र गरिँदै



दमक, २६ फागुन

पहाडी क्षेत्रबाट सुविधा खोज्दै मानिसहरू तराई झर्दै गर्दा झापा तोपगाछीका पूर्वगाविस उपाध्यक्ष किरणकुमार राई पहाड चढे । २७ वर्षअघि इलामको पश्चिम उत्तरका बस्तीसम्म पुग्ने सडक थिएन । बत्ती थिएन । सवारी साधन चढ्न दमक झर्नुपथ्र्यो ।

अब भने यस्तो अवस्था छैन । महिनायता पश्चिम उत्तर झापा, इलाम र पाँचथरका स्थानीय खुसी छन् । खुसी हुनुको कारण हो, दमक–चिसापानी सडक कालोपत्रे बन्ने निश्चित भएको छ ।

वर्षौंदेखि रतुवा खोलैखोला जोखिमपूर्ण यात्रा गरेका दमक, इलाम र पाँचथरका पश्चिम क्षेत्रका जनता लाभान्वित हुने गरी उक्त सडक कालोपत्रे निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको सडक डिभिजन दमकले जनाएको छ ।

मेची राजमार्गको विकल्प मानिएको यो सडकको दुई वर्षअघि ट्रयाक खोलिएको थियो । झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने ४४ किलोमिटर सडक बनेपछि ताप्लेजुङदेखि झापासम्मको यात्रा मेची राजमार्गभन्दा ५० किलोमिटरले छोटो हुने दाबी गरिएको छ । चिसापानीदेखि रविसम्मको सडक निर्माणको काम सरकारले भेडेटारदेखि राँकेसम्मको सडक निर्माणअन्तर्गत अघि बढाएको छ ।

माथिल्लो क्षेत्रको सडक अर्कै आयोजनाबाट बन्ने भएपछि चिसापानीदेखि दमकसम्मको ३३ किलोमिटर सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्रेको थालिएको सडक डिभिजनका प्रमुख श्यामकुमार यादवले जनाकारी दिनुभयो ।

‘सडक छिटो सक्न तीन खण्डमा ठेक्का आह्वान गरेका छौं’ यादवले भन्नुभयो, ‘तीन वर्षभित्र दुई लेनको ३३ किलोमिटर सडक कालोपत्रे सक्ने गरी काम अघि बढाएका हौं ।’ उहाँकाअनुसार झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६.२९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ ।

आगामी पुसमा सम्पन्न गर्ने गरी उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको छ । काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले निर्माणको काम गरिरहेको छ । सडकको दोस्रो खण्ड लुम्बिनी–गणपति जेभीले ठेक्का पाएको छ ।

१५.२६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको यादवले बताउनुभयो । फागुन २ गते ठेक्का सम्झौता भएको सडक खण्डको कालोपत्रे गर्ने कार्य ३६ महिनामा सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ ।

उक्त खण्ड पनि तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । दमक चोकदेखि इलामको सिमानासम्मको करिब ९ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।

०४९ सालतिर अकर–चतुरे–दमक मोटर बाटो नामकरण गरेर स्थानीय श्रमदानमार्फत सडक निर्माणमा जुटेको दमक–चिसापानी सडक निर्माण उपभोक्ता समितिका पूर्वउपाध्यक्ष किरणकुमार राईले स्मरण गर्नुभयो ।

‘हामीले करिब डेढ बर्षसम्म प्रत्येक शनिबार बाटो खन्न श्रमदान गर्यौं’ उहाँले भन्नुभयो, ‘श्रमदानबाटै डेढ किलोमिटर बाटो बनाउन सफल भयौं । पछि आफ्नो गाउँ आफै बनाऊ भन्ने कार्यक्रम आयो ।त्यही बेलादेखि यो बाटो निर्माणमा सरकारको ध्यान पुग्यो ।’

०५१ देखि ०५९ सालसम्म पर्याप्त बजेट नआएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो । उक्त अवधिमा ३९ लाख रुपैयाँ मात्र आएको उहाँको भनाइ छ ।

उक्त सडक प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरूकै क्षेत्रको सडकको निर्माणले गति नपाउँदा स्थानीयले विरोध गरेका थिए । (अर्जुन राजवंशी, इकान्तिपुर डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्