सवारी दुर्घटना दुई जनाको मृत्यु



बिराटनगर, २६ फागुन

सुनसरी र मोरङका दुई स्थानमा आइतवार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आइतवार साँझ सवा ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको इनरुवा नगरपालिका–६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको बेलवारी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आइतवार राती साँढे ८ बजे बेलवारी–९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक बेलवारी नगरपालिका–१० का २८ बर्षीय तेजबहादुर धिमालको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्