रजश्वलाबारे खुल्ला बहस



मनिषा आचार्य

मानिसका अनेकौँ गुणहरु हुन्छन र ती अनेकौं गुणहरु भित्रै लुकेर बसेको हुन्छ मौनता । आफूलाई असामान्य लागेका कुराहरुलाई प्रष्ट ब्यवहारमा देखाउन कहिलेकाही त्यहाँको परिस्थितिलाई काबुमा राख्न नसकिनु यथार्थ रहेछ । उमेर क्रमशः बढ्दै जाने क्रममा मानिसको मर्चुरिटी (परिपक्वता) पनि हरेक हिसाबले बढ्दै जाँदो रहेछ ।

जतिबेला म १४ बर्सकी थिएँ, एकातिर एस.एल.सी. परीक्षा नजिकिँदै थियो, अर्कोतिर म आमा बन्नका लागि योग्य अर्थात मलाई रजश्वला भएको थियो । गाँउमा कसैलाई रजस्वला हुँदा अर्काको घरमा २२ दिन बस्न जानुपर्ने, दाजुभाइको अनुहार हेरे उनीहरुको पतन हुने, पानी छुन नहुने, भान्सा, मन्दिरमा जान नहुने जस्ता सामाजिक नियमहरु प्रचलित थिए । तर त्यो बेला आमाको बुबा स्वर्गाहरोहण हुनुभएको, बुबा र दाजुभाइ घरबाहिरै रहनुभएकोले मैले कसैकोमा गएर बस्नु परेन् ।

समय बित्दै गयो, महिनामा एक पटक महिला वर्गलाइ रजस्वला हुनु प्राकृतिक नियम भएजस्तै जतिबेला मलाई रजस्वला हुन्थ्यो उतिबेला आमाले म माथि पनि समाजले बनाएका नियम लागू गर्न भन्नुहुन्थ्यो । तर मलाई भने पटक्कै चित्त बुझ्दैनथ्यो, घरमा राखेका बीउ बीजनहरु छोएमा नउम्रने, बोटबिरुवा छोए मर्ने, खाना बनाएर दिए पाप लाग्ने जस्ता कुराहरु सधैँ आमाले गर्नुहुन्थ्यो ।

तर मैले त्यसो गरिन । रजस्वला भएको समयमा आमासँग लुकेर काँक्रा, फर्सी र आलुका बिउहरु छोइदिन्थे म । पछि उक्त बालीहरु रोप्ने समयमा मैले छोएका बिउहरु उमृदैननकी भन्ने डर पनि मनमा भइरहन्थ्यो । तर पछि सबै बिरुवा राम्रोसग उम्रन्थे, हुर्किन्थे बढ्थे र सधैंझैँ फल दिन्थे । त्यसपछि मैले रजस्वला माथि समाजले बनाएका सबै नियमहरु बेकामे र निकम्मा छन् भन्ने निश्कर्ष निकालेँ ।

धेरैपटक रजस्वला हुँदा मैले भान्साको काम गरेँ, खेतीपातीको काममा आमा बालाई सघाएँ । पाठपूजा, भोजभतेरमा सामेल भएँ, मन्दिरमा गएँ, भाइटीका लगाएँ । दशैँको टीका थापेँ अर्थात भनौँ रजस्वलालाई लिएर बनाएका नियमहरुलाई आफ्नो जीवनमा कार्यान्वयन गरिन र कसैलाई भनिन् पनि । एकदिन आमासँग मैले यो बारेमा कुरा गरेँ । आमाले ‘यी सबै मान्छेले बनाएका कानूनहरु हुन्, पहिले अहिलेको जस्तो सुबिधाहरु थिएनन् (पानी, सेनेटरी प्याड, उपयुक्त आवास) ।त्यसैले रजस्वला भएर बग्ने रगत यत्रतत्र हुने भएकाले जानेर या नजानेर यस्तो नियम बनेका हुन् । तिमीलाई बेठीक लाग्छ भने तिमीलाई लागेकै गर …’ भनेपछि मन प्रफुल्ल भयो ।

वास्तवमा रजस्वला भनेको महिलाहरुको पाठेघर तथा अन्डासयमा २ किसिमका हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सी हुन्छन् । कन्ट्राक्सन तथा यसका भित्री तह इडोमेट्रियम बनाउन र बिगार्न महिनावारी गराउने भूमिका यिनीहरुले खेल्दछन् । स्वास्थ्य विज्ञानका अनुसार पाठेघरको भित्री तहमा हार्मोनहरुको नियन्त्रणमा टुक्रिएका टुक्राहरु महिलाहरुको योनीमार्ग हुँदै रगत बग्ने एउटा नर्मल प्रक्रिया नै रजस्वला हो । महिलालाई रजस्वला हुनु भनेको संसारमा जन्मको प्राकृतिक नियम नतोडिनु हो ।

तर नेपाली समाजमा रजस्वला भएकी महिलालाई परिवार र समाजका हरेक अवसरहरुबाट बन्चित गराइन्छ । देशको गरिबी र गलत शिक्षा पद्धति मानवीय चेतनाको बाधक बन्यो, समाजमा रहेका कथित शिक्षित भनाउँदाहरुले आफूलाई थाहा भएका नराम्रा प्रथाहरुलाई निरुत्साहित गर्नुको साटो प्रोत्साहित गरे । उनीहरुले नै रजस्वला जस्तो प्राकृतिक उपहारलाई आजको आधुनिक विश्वमा पचाउन सक्ने सामथ्र्य राखेनन् ।

उचित जीवन उपयोगी शिक्षा र यसको प्रभावकारी कार्यान्वयनको अभावका कारणले गर्दा हामी भौतिक रुपमा मात्र होइन्, मानसिक रुपमा पनि धेरै पछि परिसक्यौ । यसको प्रभाव स्वास्थ्य क्षेत्रमा बेजोड रुपमा प्रस्तुत भएको हाम्रा आँखा अगाडि छर्लङ्गै छ । विद्यालयमा समेत पढाई हुने पाठ्यक्रममा महिनावारीका बारेमा उल्लेख गरिएतापनि यो विषयमा कक्षाकोठामा पर्याप्त छलफल हुन नसक्नुले अहिलेका कतिपय किशोरीहरु यो विषयमा अन्जान छन् ।

प्राचीन कालदेखि वर्तमानसम्म आइपुग्दा पनि महिलामाथि उत्पीडन सामाजिक र साँस्कृतिक सम्बन्धसँग जोडिएको एउटा गहन र महत्वपूर्ण टपिक हो, रजस्वला । समाजले जहिलेपनि नारीलाई सामथ्र्यहिन ठान्नुका साथै पुरातन विचारधाराले केवल भोगको साधन बनाएर मान्छे उत्पादन गर्ने कारखाना नारीलाई ठान्नु अबको एक्काइसौँ शताब्दीमा पाच्य हुन सक्दैन् ।

तर आध्यात्यवादको खोल ओढेर कति सजिलोसँग केही पुरुषहरु आफ्नो स्वप्नदोषलाई प्राकृतिक नियम ठान्छन् । नेपाली समाजमा नजान्नेजस्तो गरेर बाहानबाजी गर्नेहरुको कम छैनन्, जसले महिलालाई हरेक क्षेत्रबाट दबाएर, अन्यायमा पारेर वर्षको एकदिन ‘ह्यापी विमेन डे’ भन्दै बोक्रे आदर्श दर्शाउछन् ।

आज महिलामाथि भएका यस्ता ब्यवहारहरु, तमाम विकृति र बिसङ्गतिहरु सनातन परम्परा र हिन्दू समाजको उपज मात्र होइनन् यस्ता ब्यवहारहरु त केवल बुर्जुवा शिक्षाको चरम पराकाष्ठाको देन पनि हुन् । सुदुरपश्चिमका कतिपय जिल्लाहरुमा रजस्वला भएकी महिलालाई पशु सरह गोठमा बन्धक बनाएर राखिन्छ । उनलाई समाजले त्यो समयमा अछुतको ट्याग भिराइदिन्छ ।

कतिबेला सर्पले डस्ने, हिंस्रक जनावरले टोक्ने, छाउगोठ भत्किने, गोठभित्र पानी पस्ने, निसासिएर श्वासप्रश्वासमा कठिनाइ हुने, बलात्कारको सिकार हुनुपर्ने जस्ता पिरहरुलाई कुन्ठित गरेर जीवन र मृत्युको दोसाधमा छटपटाउँदै चेतनाको उज्यालो किरणको पर्खाइमा रहेका त्यहाँका दिदी बहिनीहरुको दुखेको मनमा पट्टि कसले लगाइदिने ? सेनेटरी प्याडको अभावमा थोत्रो कपडाको टालो र खरानी प्रयोग गर्दै आएका दिदी वहिनीको स्वास्थ्यको ग्यारेन्टी कसले लिने ?

महिनावारीका समयमा महिलाहरु स्वयम् शारिरीक रुपले कमजोर भएका हुन्छन् । कहिलेकाँही मुड चेन्ज हुने, मुड स्वियिङ हुने र मिक्स फिलिङहरु भई राख्ने हुनाले परिवारका सदस्यहरुबाट टाढा राख्नु राम्रो होइन्, महिनावारीको समयमा भान्सा, घर र मन्दिरहरुमा पस्न रोक लगाउनुलाई मानवीय ब्यवहार भन्न सकिन्न । महिनावारी पाप हो भन्नेहरुले मन्दिरहरुमा मूर्ती बनाएर सजावट भएका देवी, सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती र सीतालाई रजस्वला हुन्थ्यो, उनीहरु पनि स्त्री नै हुन् । उनीहरु पनि रजस्वला जस्तो प्राकृतिक परिधिभित्र थिए भन्ने बुझ्न जरुर छ ।

रजस्वला कुनै प्रकारको प्राण घातक रोग होइन र समाजले बर्जित गरेजस्तै अछुत पनि होइन् । यो त सृष्टिको प्रथम गुण हो, प्राकृतिक र स्वाभाविक कुरा हो । महिनावारी भएकी महिलालाई सामाजिक हेयको दृष्टिकोणले हेर्नुभन्दा सरसफाईमा ध्यान दिनुपर्ने, चेतनामूलक सन्देशहरुको प्रवाह गर्नु, पुरुषले पनि यसको ब्यवस्थापनमा सहयोग गर्नु उत्तम कार्य हो । महिलाहरुले महिनावारीको समयमा परिवारका सबै सदस्यहरुलाइ जानकारी गराउनु पर्छ किनकी रजस्वला स्त्री जीवनको एउटा महत्वपूर्ण पार्ट्स हो ।

हिजो हजुरआमा, आमाहरुले पालामा महिनावारीलाई कल्चरल्ली फलो गरेवापत सम्मान पाए । उहाँहरुको पालोमा यी कुराहरुलाइ फलो नगर्दा घर गृहस्थीमै बाउन्ड गरिन्थ्यो तर अब समय धेरै परिवर्तन भएको छ । हामीले महिनावारीलाई बार्दै गर्दा यो प्रथा किन शुरु भयो ? किन बार्ने ? म किन फलो गर्दैछु ? यसका बैज्ञानिक कारणहरु, फाइदा र बेफाइदाहरु के छन् ? त्यस बारेमा सबै महिलाहरु प्रष्ट हुन जरुरी छ ।

परिवर्तन एक्लै सम्भव छैन् । आफूमा परिवर्तन कसैको साहाराबिना नै ल्याउन सकिन्छ तर समाजमा परिवर्तन ल्याउन सामूहिक ऐक्यवद्धता चाहिन्छ । आपसी छलफल गरेर परिवर्तन सजिलै ल्याउन सकिन्छ तर यसका लागि तत्परता चाहिन्छ । विद्यालय र कलेजहरुमा पाठ्यक्रममै हेन्थ एजुकेशन समावेश हुनुपर्छ र शिक्षकले बिना हेजिटेसन यो बारेमा डिस्कसन कक्षा कोठामै गर्नु गरिनु पर्छ ।

समाजमा रजस्वला हुँदा बार्नेको अस्तित्व के र नबार्नेको अस्तित्व के ? यो बारेमा अनुसन्धान हामी आफैँले गर्नुपर्छ । पसलमा सेनेटरी प्याड किन्न जादा १७ पटक पत्रिकामा बेरेर दिने पसलेलाई रजस्वलाको बारेमा बुझाउने सामथ्र्य हामीले नै राख्नुपर्छ । महिलामाथि हुने धार्मिक, पारिवारीक र सामाजिक ज्यादतिका विरुद्धमा हामीले नै बोल्नुपर्छ । सबैभन्दा पहिले महिला अधिकारकर्मीहरुले छाउगोठ भत्काउ भन्दै हिँड्नु अघि आफैँले रजस्वला बार्न छोड्नुपर्छ ।

जब महिलामाथि बनाइएका यस्ता प्रकारका नकारात्मक सामाजिक साँस्कृतिक र धार्मिक मान्यताहरु बदलिन्छन् तब मात्र महिला मुक्ति सम्भव छ । तसर्थ सुरुआत आफैँबाट गरौँ नत्र जबसम्म समाजमा महिलामाथि पैसाको भरमा र कथित स्वतन्त्रताको नाममा भइरहेका दमन, उत्पीडन र रुढीबादी हजारौ दस्तावेजहरु पढ्छौँ मात्र तर दस्तावेजमा उल्लेख भएका कुराहरुलाई ब्यवहारिक जीवनमा महशुस गर्न पाउदैनौँ । (लेखक, अनेरास्ववियूकी केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्