ब्राउन सुगर सहित तीन जना पक्राउ



बिराटनगर, २६ फागुन

झापा र मोरङका दुई स्थानबाट १६ ग्राम, २५ मिलिग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।

आइतवार साँझ साँढे ६ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका–८ का २९ बर्षीय कमानसिंह राईलाई १५ ग्राम खैरो हेरोइन ब्राउनसुगर सहित पक्राउ गरेको हो । भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका–१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्