पाँचथरमा कोरोनाविरुद्ध ‘सचेतना र संयमता’ अभियान



फिदिम, २६ फागुन

कोरोनाभाइरसको विश्वब्यापी सङ्क्रमणको जोखिमबाट बच्न तथा यसबारे फैलिएको सन्त्रास न्यूनिकरण गर्न पाँचथरमा सचेतना र संयमता फैलाउने अभियान चलाइने भएको छ ।

शुक्रवार स्वास्थ्य कार्यालय पाँचथरमा बसेको सरोकारवालाहरुको बैठकले सम्भावित जोखिम न्यूनिकरणका लागि सचेतना जगाउने र समाजमा फैलिएको अफवाह एवम् सन्त्रासको अवस्था अन्त्य गर्न संयमता अपनाउन अपील गर्ने निर्णय गरेको हो । यसका लागि एकीकृत रुपमा सन्तुलित एवम् तथ्यपरक सन्देश प्रवाह गरिने भएको छ ।

बैठकले स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा जिल्लाका आठ वटै स्थानीय तहका स्वास्थ्य इकाईहरुले कोरोनाभाइरस (कोभिड–१९)का विषयमा स्थानीय सञ्चार माध्यमहरुबाट सूचना प्रकाशन–प्रसारण गराउने, सेवाग्राहीहरुलाई जानकारी दिने तथा सन्देशमुलक पर्चा र ब्यानर निर्माण गरी गाँउ–गाउँसम्म वितरण गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा जिल्लाका सबै विद्यालयहरुमा उक्त रोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । वार्षीक परीक्षातालिका परिवर्तन गरिएपछि बालबालिकाहरुमा आतङ्कको स्थिति निर्माण भएकाले उक्त रोगबारे तथ्यपरक एवम् संयमित सूचना सम्प्रेषण गरिने भएको हो ।

यसैगरी महामारीको रुपमा फैलन सक्ने अन्य रोगहरुको जोखिमलाई दृष्टिगत गर्दै अत्यावाश्यक औषधि तथा औषधिजन्य सामग्रीको प्रवन्ध गर्न स्थानीय तहहरुलाई आग्रह गरिने भएको छ । स्थानीय तहहरुलाई माक्स लगायत सामग्री र अत्यावाश्यकीय औषधिहरुको अल्पकालीन ब्यवस्थापन गर्न बैठकले आग्रह गरेको हो ।

यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समन्वयमा पूर्ण सरसफाई एवम् स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने बैठकले निर्णय गरेको सुवेदीले वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भौगोलिक कठीनाई, पूर्वाधार एवम् मानवीय स्रोत साधनका दृष्टिले जिल्लाको अवस्था निकै कमजोर रहेकाले उक्त रोगको सङ्क्रमणबाट जोगिन सचेतनामुलक कार्यक्रम सञ्चालनमा विशेष जोड दिइएको वताउनुभयो ।

“गाउँहरुमा रोगको सङ्क्रमण फैलिएमा अन्य विदेशी मुलुक वा शहरी इलाकामा जस्तो सहज उपचार गर्ने सक्षमता हामीसँग छैन्” प्रजिअ वस्तीले भन्नुभयो, “विगतमा डेङ्गुको सामान्य सङ्क्रमणले समेत महामारीको रुप लिएको घटनालाई उदाहरणको रुपमा लिएर सचेतनामुलक कार्यक्रममा विशेष जोड दिइएको हो ।”

पाँचथरमा प्रशासनले ठूलो संख्यामा मानिसको जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिइसकेको उहाँले वताउनुभयो । प्रशासनले सदरमुकाम फिदिममा औषधि र औषधिजन्य सामग्रीको उपलब्धताका विषयमा समेत चासो राखेको छ ।

बैठकमा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले कोरोनाभाइरसको आशङ्का भएका विरामीको प्रारम्भिक उपचारका लागि समेत छुट्टै स्थानको प्रवन्ध गर्न जिल्ला अस्पताल तथा अन्य निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो ।

यस्तै सदरमुकाम स्थित निजी अस्पतालहरु र सदरमुकाम बाहिर रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा आउने कडा रुघाखोकी तथा ज्वरोका विरामीहरुको विवरण दैनिक रुपमा जिल्ला अस्पतालमा राख्ने प्रवन्ध समेत मिलाइने प्रमुख सापकोटाले वताउनुभयो ।

उहाँले कम्तीमा वडा स्तरमा उक्त रोगको सङ्क्रमणवारे सूचना सङ्कलन तथा सर्वसाधारणलाई सचेत तुल्याउन सहायता कक्ष स्थापना गर्न स्थानीय तहहरुलाई आग्रह गरिने वताउनुभयो ।

जिल्लामा प¥याप्त मात्रामा सचेतनामुलक कार्यक्रम सञ्चालन हुन नसकेको अवस्थामा सबै पक्षलाई अभिप्रेरित गरेर रोगको सङ्क्रमण हुनबाट बचाउन सरोकारवाला निकायले चासो देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्