चीनमा कोरोना नियन्त्रणतिर



काठमाडौं, २६ फागुन

चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ । आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ । यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन् । यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ ।

हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आएका चार जनाबाहेक अरूमा आइतबार नयाँ संक्रमण देखिएको छैन । कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ यद्यपी रोकिएको भने छैन । आइतबार वुहानबाट कोरोनाका कारण २२ जनाले ज्यान गुमाएका छन् ।

नयाँ संक्रमितको संख्या घट्नुलाई चिनियाँ अधिकारीहरूले ठूलो सफलता मानेका छन् किनभने एक महिनाअघि चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो । फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए ।

जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो । सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो । कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय १९ मानिसले ज्यान गुमाए छन् भने ८० हजार ३ सय ७५ जना बिरामी भएका छन् ।


कोरोनाको कहर चीनमा घटे पनि इरान र इटालीमा भने तीव्र गतिमा फैलिरहेको छ । इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ ।

त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ । यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ । यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ‘सेल्फ–क्वारेन्टाइन’मा रहेको बताएका छन् । संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ । विशेष अवस्थामा बाहेक बिना अनुमति घर बाहिर ननिस्कन भनेको छ । प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कुल, कलेज, जिमखाना, म्युजियम, नाइट क्लबलगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन् ।

पछिल्लो समय इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ । इरानमा ६ हजार ५ सय ६६ मामिला पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ । (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्