विकास योजनाको ब्यवस्थित सञ्चालनको प्रयास



फिदिम, २४ फागुन

यहाँका स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाहरुको ब्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन गर्न उपभोक्ता समितिहरुलाई योजना सञ्चालनसम्बन्धी तालिम दिएका छन् ।

यहाँका सबै स्थानीय तहले वडा स्तरमा तालिम आयोजना उपभोक्ता समितिका पदाधिकारीहरुका योजना सञ्चालनसम्बन्धी जानकारी दिएका छन् । विकास निर्माणका योजना समयमै सञ्चालन भएपनि योजनासम्बन्धी कागजात तयार पार्न तथा आवश्यक प्रकृया पूरा गर्न उपभोक्ता समितिहरुलाई समस्या पर्ने गरेको छ ।

कागजात र आवश्यक प्रकृया पूरा नहुँदा बजेट निकासा गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई समस्या हुने गरेको छ भने उपभोक्ता समितिका पदाधिकारीहरुले झञ्झट ब्यहोर्नु परेको छ । यस प्रकारको झञ्झट नहोस् भन्ने उद्देश्यले विगत तीन वर्षदेखि उपभोक्ता समितिहरुलाई तालिम दिइँदै आएको पाँचथरको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो ।

प्रत्येक वर्ष नयाँ–नयाँ योजना कार्यान्वयन हुने र तिनमा नयाँ पदाधिकारी आउने हुँदा तालिम अत्यावाश्यक रहेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईको भनाई छ ।

“अझैपनि कागजात तयार पार्न उपभोक्ता समितिहरुलाई कठीन परिरहेको छ”, भट्टराईले भन्नुभयो, “काम गरेपनि कागजात नहुँदा समस्या पर्ने भएकाले तालिम दिएका हौँ ।” तालिमका कारण समयमा काम सम्पन्न गर्ने क्रम वर्षेनि बढिरहेको भट्टराईको भनाई छ । यस्तै स्थानीय तहलाई योजना सम्पन्न गर्न तथा रकम निकासा गर्न केही सहजता भएको उहाँले वताउनुभयो ।

तालिममा उपभोक्ताहरुको आम भेला गर्ने तरिका, कार्यालयबाट सेवा लिने तरिका, योजना सञ्चालन गर्दा आवश्यक पर्ने कागजातहरु, कागजात तयार पार्ने तरिका, योजना सञ्चालनको प्रकृया, बजेट निकासा गर्ने प्रकृया, योजनाको गुणस्तर लगायतका विषयमा जानकारी दिने गरिएको छ ।

“यति जानकारी दिँदा पनि उपभोक्ता समितिहरु अरुकै भर पर्नुपर्ने पनि भएको छ”, भट्टराईले भन्नुभयो, “यस्तोमा वडा कार्यालयहरुले सहजिकरण गर्ने गरेका छन् ।”

कतिपय स्थानीय तहहरुले आगामी आर्थिक वर्षमा के–कस्ता योजना सञ्चालन गर्नेभन्ने मार्गनिर्देशन समेत गर्ने गरेका छन् । स्थानीयको आयआर्जन अद्धिवृद्धिलाई दृष्टिगत गर्दै जिल्लाको याङवरक गाउँपालिकाका जनप्रतिनिधिहरुले पूर्वाधार निर्माणका विशेष आवश्यकताका योजनाहरु मात्रै सञ्चालन गर्न तथा सञ्चालनमा रहेका योजनाहरुको गुणस्तरीय निर्माण गर्दै पूर्ण बनाउन मद्दत गर्न आग्रह गरेका छन् ।

“पूर्वाधार निर्माणमा केन्द्रीत हुँदा आयआर्जन वृद्धि गर्ने विषय ओझेलमा परेको छ” याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, “अब धेरै भन्दा धेरै आर्थिक विकासका योजना सञ्चालन गर्ने तथा पूर्वाधारका योजनामा समेत सकेसम्म स्थानीय कामदारले काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै आएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्