माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई



इलाम, २४ फागुन

इलाममा आयोजित माइभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको छ ।

बर्षाले अवरोध पुर्याएको खेलमा निया एन्ड्रिसको निर्णायक गोलको मद्दतमा आयोजक माइभ्याली फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्रले सिजनको दोश्रो उपाधि आफनो पक्षमा पारेको हो ।

उपाधिसँगै मछिन्द्रले नगद ८ लाख रुपैयाँ हात पारेको छ । इन्जुरी समयमा राइट फ्ल्याङकबाट एन्ड्रिसले गरेको प्रहारले सिधै जाली चुमेको थियो । खेलमा दुवै टिमबाट केही राम्रा अवसरहरू सिजना भए पनि मैदानका कारण उपयोग गर्न सकेनन् ।

दोश्रो हाफमा पानी परेपछि ठूलो टुँडिखेलमा हिलाम्मे हुँदा पेनाल्टी एरियाका अवसरहरू सदुपयोग गर्न दुवै टिम चुके । उपविजेता बनेको आयोजकले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता एन्ड्रिस घोषित हुँदै नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको व्यक्तिगत विधामा मछिन्द्रका ३ जना र आयोजकका ३ जना खेलाडीले पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको बेष्ट डिफेन्स आयोजकका कप्तान छिरिङ गुरुङ, उत्कृष्ट गोलकिपर आयोजकका देव लिम्बू, उत्कृष्ट मिडफिल्डर मछिन्द्रका योगेश गुरुङ, उत्कृष्ट स्ट्राइकर मछिन्द्रका निया एन्ड्रिस र प्रशिक्षक मछिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका शरण बस्नेत घोषित हुँदै नगद एक लाख १५ हजार प्राप्त गरे ।

लिगपछि सहभागिता जनाएको ३ वटा प्रतियोगितामा मछिन्द्रको यो दोश्रो उपाधि हो । यसअघि तेश्रो सताक्षी गोल्डकपमा थ्री स्टारलाई हराउँदै मछिन्द्रले सिजनको पहिलो उपाधि जितेको थियो । २२ औं बुढासुव्वामा सेमिफाइनलमा नेपाल पुलिससँग पराजित बनेको थियो ।

फागुन १५ गतेबाट जारी प्रतियोगितामा ३ ए डिभिजन क्लब र ४ विदेशी टिमसहित १० क्लबको सहभागिता रहेको थियो । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको हालसम्म झापा–११ ले २ संस्करण जितेको छ । थ्री स्टार, त्रिभुवन आर्मी र क्यामरुनी क्लब दाफिन्सले १÷१ संस्करणको उपाधि आफ्नो पक्षमा पारेका थिए । (थाहाखवर डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्