
फिदिम, २४ फागुन
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाको कार्यसञ्चालनमा सघाउ पु¥याउने गाउँपालिका विकास परिषद गठन गर्ने भएको छ ।
गाउँपालिकाको हालै सम्पन्न छैटौँ गाउँसभाले उक्त परिषद गठनका लागि ‘फाल्गुनन्द विकास परिषद कार्यविधि–२०७६’ पारित गरेको हो । गाउँपालिकामा नीति निर्माणदेखि विकास निर्माणका आयोजनाको प्रभावकारी अनुगमन समेतमा सहयोग पुग्ने उद्देश्यले उक्त परिषद गठन हुन लागेको हो ।
गाउँसभाबाट पारित कार्यविधिअनुसार उक्त विकास परिषदले गाउँपालिकामा कानून निर्माणमा सघाउ पु¥याउने तथा आवश्यक परामर्श र सुझाव दिनेछ । यस्तै गाउँपालिका भित्र सञ्चालन हुने सबै विकास आयोजनाको कार्यान्वयन र सञ्चालनमा सहयोग पुग्ने अपेक्षासहित उक्त कार्यविधि पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाले सञ्चालन गर्ने गतिविधिमा सबै पक्षलाई समेट्न परिषद प्रभावकारी हुने आफूहरुको विश्वास रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले वताउनुभयो । कार्यविधिअनुसार उक्त परिषदले गाउँपालिका र गाउँ कार्यपालिकाको कार्यालयलाई समेत सेवा प्रवाहका विषयमा सल्लाह, सुझाव दिन सक्नेछ ।
उक्त परिषदमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरु, गाउँपालिकाबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरु, गाउँपालिका भित्र क्रियाशील सबै राजनीतिक दलका प्रमुखहरु र राष्ट्रिय जीवनमा योगदान पु¥याएका गाउँपालिका भित्रका नौ जना ब्यक्तिहरु सदस्य रहने कार्यविधिले ब्यवस्था गरेको छ ।
प्रदेश नं. १ सरकारको अवधारणाअनुसार विकास परिषद निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले वताउनुभयो । गाउँपालिकाले प्रदेश नं. १ मै पहिलो पटक उक्त कार्यविधि निर्माण गरिएको दाबी पनि गरेको छ ।