
फिदिम, २४ फागुन
प्रदेश नं. १ का विभिन्न जिल्लामा हिँजो र आज भएका छुट्टा–छुट्टै घटनामा पाँच जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बेहोस् भएर ढलेर मृत्यु
ताप्लेजुङ मौवाखोला–४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोक सेवा आयोगको परीक्षाका लागि हिजो धनकुटा–७ स्थितमा रहेको एक होटलमा बसेका शेर्पा आज बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढलेर बेहोस् भएका थिए । शेर्पालाई साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा पु¥याएको र उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नाबालिकाको डुबेर मृत्यु
मोरङ बुढिगंगा–२ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको डुबेर मृत्यु भएको छ । आज बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाइते भएकी भावनालाई आफन्तले उपचारार्थ बिराट मेडिकल कलेजमा भर्ना गराएकोमा उनको उपचारको क्रममा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चट्याङले लागेर मृत्यु
संखुवासभा मकालु–५ मुढेलामा बस्ने ५७ बर्षीय निमा शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे आफ्नै घरको आगनमा रहेका शेर्पालाई चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लडेर दुई जनाको मृत्यु
ओखलढुङगा खिजिदेम्बा–४ खिजिकाती बस्ने ६० बर्षीय चेकप्रसाद भट्टराईको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै घाँस काट्न जादै गरेको अवस्थामा एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।
यस्तै भारत पुरनिया दुस्मार–५ बस्ने ५३ बर्षीय मोहम्मद हसनको लडेर मृत्यु भएको छ । ओखलढुङगा लिखु–६ गाम्नाङटारमा रहेको ग्रामोदय माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा काम गर्दै आएका भारतीय नागरिक हसन हिजो अपरान्ह साढे ४ बजे शौचालयमा लडेर घाइते भएका थिएइ । उनको उपचारको क्रममा सामुदायीक अस्पताल मन्थली रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।