अत्यावाश्यक भौतिक संरचना तयार पार्दै याङवरक



फिदिम, २४ फागुन

ब्यवस्थित भौतिक संरचनाको अभावले गाउँपालिकाका तथा मातहतका कार्यालयको कार्यसम्पादन प्रभावकारी नभएपछि पाँचथरको याङवरक गाउँपालिका अत्यावाश्यक भौतिक संरचना निर्माणमा जुटेको छ ।

साविक थर्पू गाविसको कार्यालयमा रहेको गाउँपालिकाको कार्यालय साँघुरो र अब्यवस्थित हुँदा गाउँपालिकाका कैयन गतिविधिहरु प्रभावित भएको तथा गाउँपालिका भित्रका अन्य विभिन्न निकाय र संस्थाका ब्यवस्थित कार्यालय भवन नहुँदा कार्य सम्पादनमा समस्या परेका कारण अत्यावाश्यक पूर्वाधार निर्माण अगाडि बढाइएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाले कार्यालय भवन, वडा नं. २ र वडा नं. ५ को वडा कार्यालय भवन निर्माणको प्रकृया अघि बढाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले पुस अन्तिम साता गाउँपालिकाको कार्यालय भवन तथा वडा नं. २ र ५ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आव्हान गरेको हो ।

आगामी तीन वर्षमा योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बोलपत्र आव्हान गरिएको हो । गाउँपालिकाको कार्यालय भवन पाँच तले तथा वडा कार्यालय भवनहरु दुई तले हुने प्राविधिक स्टिमेट सहितको बोलपत्र आव्हान गरिएको हो ।

वहुवर्षीय योजनाको रुपमा निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका सवइन्जिनियर मोविर पुनले वताउनुभयो । गाउँपालिकाको कार्यालय भवन याङवरक गाउँपालिका वडा नं. ४ को निशान मौलोको छेउमा निर्माण गर्न लागिएको हो ।

उँपालिकालाई स्थानीयवासीले निःशुल्क प्रदान गरेको करीब १५ रोपनी क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाको कार्यालयका अतिरिक्त दुई वटा वडा कार्यालय समेत अत्यावाश्यक रहेकाले भवन निर्माणका लागि बोलपत्र आव्हान गरिएको हो । वडा नं. २ को वडा कार्यालय कच्ची घरमा सञ्चालन हुँदै आएको छ भने वडा नं. ५ को वडा कार्यालय सामुदायिक भवनमा रहँदै आएको छ ।

याङवरकमा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गाउँ कार्यपालिकाको प्राविधिक, योजना, लेखा, प्रशासन लगायत शाखा तथा विषयत इकाईहरुका लागि भवनको अभाव छ । गाउँपालिकामा विषयगत इकाई स्थापना भएपछि कोठा भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ । विभिन्न शाखाहरुको कामकाज एकै भवनमा सञ्चालन गर्दा कार्यसम्पादनमा समस्या हुँदै आएको छ ।

यस्तै गाउँपालिकाको केन्द्र आसपासमा ठूलो संख्यामा सहभागी रहने सभा, गोष्टी, सेमिनार लगायत कार्यक्रम गर्नलाई भवनको अभाव भएपछि गत आर्थिक वर्षबाट गाउँपालिकाले सामुदायिक भवन निर्माण थालेको छ ।

स्थानीय सर्णकुमार योङहाङले निःशुल्क उपलब्ध गराउनुभएको एक रोपनी जमिनमा सामुदायिक भवन निर्माण सुरु भएको हो । भवन निर्माणका लागि गत आ.व.मा रु. १७ लाख तथा चालु आ.व.मा रु. २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो । चालु आ.व.मै उक्त भवन निर्माण पूरा गर्ने गाउँपालिकाको लक्ष्य छ ।

यस्तै गाउँपालिकाले स्वास्थ्य संस्था नरहेको वडा नं. ५ मा गत वर्ष सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको थियो । यस आर्थिक वर्षबाट स्वास्थ्य चौकी निर्माणको कार्य अघि बढाइएको छ । वडा नं. ५ मा रु. ५४ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ । उक्त भवन चालु आ.व. भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको याङवरक गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाले गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तब्यमा रहेको निशान मौलो कालिका धामको संरक्षण एवं विकासको कार्यलाई अघि बढाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमै यहाँ रहेको याङवरक पोखरीको घेराबार सम्पन्न गरिसकेको छ । उक्त पोखरीलाई दुई तर्फबाट पक्की पर्खाल लगाइएको छ ।

बाँकी दुई तर्फबाट समेत पर्खाल लगाउने योजनाका साथ प्रदेश सरकारमा प्रस्ताव अघि बढाइएको उपाध्यक्ष योङहाङको भनाई छ । उक्त पोखरीको विस्तार, प्राकृतिक सुन्दरता वृद्धि एवं संरक्षणका लागि पोखरी सफा गर्ने कार्य समेत सुरु भएको छ ।

यस्तै निशान धाममा आउने पर्यटक तथा तीर्थयात्रीको चापलाई दृष्टिगत गर्दै गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा सिंढिमार्ग र सवारी पार्किङ स्थल निर्माण गरेको छ । गाउँपालिकाको कार्यालय अघिल्तिर पुष्पलाल (मध्यपहाडी) लोकमार्गबाट धामसम्म रु. २५ लाखको लागतमा सिंढिमार्ग निर्माण भएको हो । यसैगरी रु. २५ लाखकै लागतमा सवारी पार्किङ स्थल निर्माण समेत सुरु भएको छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले अत्यावाश्यक पूर्वाधार निर्माणले काम कारबाहीलाई चुस्त एवं प्रभावकारी बनाउन सकिने भएकाले भवन लगायत भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको वताउनुभयो ।

गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्थाका भवन, प्रहरी चौकी, सामुदायिक भवन, सार्वजनिक शौचालय लगायतको निर्माण र मर्मतलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको बजेटले भ्याएसम्म काम अघि बढाएको अध्यक्ष घिमिरेले वताउनुभयो ।

यस्तै यी भवनहरुमा सोलार तथा विद्युत जडान, प्रविधि तथा सञ्चारको प्रवन्ध, खानेपानी लगायत पूर्वाधारको ब्यवस्थामा समेत गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको उहाँले वताउनुभयो । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको पहिलो आर्थिक वर्षमै याङवरक गाउँपालिका वडा नं. ६ गणेश चोकमा चार कोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्