

फिदिम, २३ फागुन
शान्ति ब्यवस्था कायम राख्न पाँचथर र ताप्लेजुङ जिल्लाका सुरक्षा संयन्त्रहरुले आपसी समन्वय र सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने भएका छन् ।
दुई जिल्लाका पाँच वटै सुरक्षा निकायका प्रमुखहरुको हालै बसेको संयुक्त बैठकले अपराध न्यूनिकरणका लागि संयुक्त रुपमा काम गर्ने निश्कर्ष निकालेका हुन् । पाँचथर–ताप्लेजुङ सीमावर्ती काबेलीमा सम्पन्न बैठकले हातहतियार तथा वन्यजन्तुको अवैध ओसार–पसार र प्रयोग रोक्न समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय गरेको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै शान्ति ब्यवस्थामा प्रतिकूल प्रभाव पार्नसक्ने तत्वहरुको पहिचान र नियन्त्रण गर्ने, सडक सुशासन प्रवद्र्धनलाई कडाईका साथ लागू गरी दुर्घटना न्यूनिकरणको प्रयास गर्ने, यी जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भ्रमणका आउने पर्यटकको सुरक्षाका लागि समन्वयात्मक सुरक्षा ब्यवस्था लागू गर्ने बैठकले निर्णय गरेको न्यौपानेले जानकारी दिनुभयो । यी दुई जिल्लामा भरुवा बन्दुक लगायत घरेलु हतियारको प्रयोग अत्यधिक रहेको छ । भरुवा बन्दुकको प्रयोगबाट हत्या तथा आतङ्क फैलाउने घटना हुने गरेका छन् ।
यस्तै सालक, रातो हाब्रे (रेडपाण्डा) लगायत वन्यजन्तुको ओसार–पसारका घटना समेत सार्वजनिक हुने गरेका छन् । सडक सुशासन कायम नहुँदा दुर्घटना रोकथाममा समस्या पर्दै आएको छ । दुवै जिल्लाका सुरक्षा संयन्त्रको संयुक्त प्रयास र समन्वयबाट मात्रै अपराध न्यूनिकरण एवम् शान्ति सुब्यवस्था काम गर्न सहज हुने भएकाले समन्वयात्मक सुरक्षा प्रवन्ध गर्न लागिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।
बैठकले अन्तर्राष्ट्रिय रुपमा फैलिइरहेको कोरोनाभाइरसको संक्रमणको चेकजाँचलाई मजबुद बनाउँदै लैजाने निर्णय समेत गरेको छ । बैठकका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका दुवै जिल्ला स्थित प्रमुखहरुको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।