कोरोना भाइरसको सन्त्रासः प्रदेश नं. १ मा उच्च सर्तकता



विराटनगर, २१ फागुन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाइएको छ ।

प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुनेदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गर्नेसम्मका लागि काम शुरु गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि प्रदेश स्तरमा उच्च सर्तकता अपनाउने काम शुरु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

नेपाल कोरोना भाईरसको उच्च जोखिममा समावेश भएपनि अहिले त्रासदीपूर्ण अवस्था भने नभएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले उच्च सर्तकता अपनाउन भने आवश्यक रहेको बताउनुभयो । मन्त्री घिमिरेले प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको बताउनुभयो ।

कोरोना भाइरस संक्रमितको उपचारका प्रदेश नं. १ मा २८ वटा वेड तयारी अवस्थामा राखिएको छ । शंकास्पद व्यक्तिको नमूना संकलनदेखि लिएर संक्रमितको तत्काल उपचारका लागि प्रदेश भित्रका ४ वटा अस्पतालका २८ वेडलाई तयारी अवस्थामा राखिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले बताउनुभयो ।

विराट मेडिकल कलेजमा १२, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अस्पतालमा ५ वेड र नोवेल मेडिकल कलेजमा आइसीयू सहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको उहाँले बताउनुभयो ।

अस्पताल र ल्यावका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत प्रदेश सरकारले मिलाइएको छ । कोशी अस्पतालमा प्रदेश स्तरको आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र पनि स्थापना गरिएको छ ।

कोरोनाको संक्रमणको सावधानीका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताको संयोजकत्वमा एउटा प्राविधिक समिति पनि निर्माण गरिएको छ । समितिमा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा, कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजका प्रमुख वा प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहेका छन् ।

नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर, झापाको भद्रपुरमा विशेष निगरानीको शुरु गरिएको छ । (अरुणखवरबाट)

प्रतिक्रिया दिनुहोस्