आगलागीबाट ७१ लाख बढीको क्षति



फिदिम, २२ फागुन

हिजो र आज प्रदेश नं. १ का तीन जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ७१ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम, झापा र मोरङका तीन स्थानमा आगलागी हुँदा घर, अन्नपात तथा धनमाल जलेर नष्ट हुँदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ ।

हिजो साझँ साढे ६ बजे इलाम फाकफोकथुम गाउँपालिका–६ फुस्रेमा रहेको तीनजुरे बोर्डिङ स्कुलको छात्राबासको २ तले घरमा बिधुत सर्ट भई आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ भने घर भित्र रहेको नगद २ लाख, ५ तोला सुन, टेलिभिजन २ थान, ल्यापटप ४ थान, कम्प्युटर २ थान लगायतका सामानहरु जलेर नष्ट भएका छन् । उक्त आगलागीमा रु. ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी झापा कमल गाउँपालिका–५ मंगलबारे बजामा रहेको शेरबहादुर लिम्बूको घरमा ग्यास लिक भई आगलागी हुँदा घर तथा घर भित्र रहेको लत्ता कपडा, भाँडाकुँडा लगायतका सामानहरु जलेर नष्ट हुदा रु.२० लाख बराबरको क्षति भएको छ ।

यस्तै मोरङ बेलबारी–११ भाङबारीका नरबहादुर तामङको घरमा बिधुत सर्ट भई आगलागी हुँदा अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट हुँदा रु. ७ लाख बराबरको क्षति भएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्