
सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ ।
पूर्वनिर्धारित योजनानुसार नै शल्यक्रिया तथा अन्य प्रक्रिया सुरु हुने प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई वताउनुभयो । बाह्र वर्षअघि भारतमा पहिलो पटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अहिले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन् । “फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि । नयाँ मात्रै लगाउने हो” ज्ञवालीले भन्नुभयो ।
“वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो । अब अहिले लगाउने चौथो हो ।” प्रधानमन्त्री ओलीलाई एक नातेदार महिलाले मिर्गौला दिएको उहाँको सचिवालयले जनाएको छ । प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ । मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ ।
प्रधानमन्त्री ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम ‘क्रस–म्याच’ परीक्षण गरिएको थियो । उहाँ सोमवार अस्पताल भर्ना हुनुभएको थियो । “हिजो हामीले सबै परीक्षण सम्पन्न गर्यौँ । रगत, पिसाब र ईसीजीजस्ता सबै परीक्षण गरिसकिएको छ” डा. ज्ञवालीले भन्नुभयो । त्यसबाहेक प्रधानमन्त्री ओलीको हिजो डायालिसिस पनि गरिएको थियो ।
प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित गर्ने लगायतका कार्य मङ्गलवार नै सम्पन्न गरिसकिएको र अन्य आवश्यक तयारी समेत पूरा भइसकेको डा. ज्ञवालीले वताउनुभयो । भारतबाट आएका चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्ने काम पनि मङ्गलवार नै भयो ।
ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ भारतबाट आएका छन् । तर शल्यक्रिया नेपाली चिकित्सकहरूले नै गर्ने र उनीहरूलाई तयारी अवस्थामा मात्रै राखिएको ज्ञवालीले बताउनुभयो ।
“शल्यक्रिया गर्ने बेला उहाँहरू हामीसँगै रहनुहुनेछ” उहाँले थप्नुभयो । “शल्यक्रिया गर्ने हामीले नै हो । उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो । समस्या परे सहयोग लिन सकिन्छ” ज्ञवालीले भन्नुभयो । बीबीसी नेपालीबाट ।