ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु



मोरङ, २१ फागुन

मोरङमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान–२ का ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सबिता सरदारको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवा ९ बजे बिराटनगर–१९ मिलन चोक नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को१ख २९१७ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालकसरदार र उनकी नातिनी सबिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रिपर र टिपर चालक सुनसरी रामधुनी–५ बस्ने ३३ बर्षीय हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै भोजपुरमा भोजपुरको पौवादुम्मा–१ बस्ने २६ बर्षीय जनक भुजेलको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पौवादुम्मा–२ स्थित मध्य पहाडी लोकमार्गमा किराना सामान अनलोड गरी श्यामसिलाबाट तिवारीभञ्याङ तर्फ जाँदै गरेको को २ त ५९१९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसी दुर्घटना हुदा सहचालक भुजेल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । ट्र्याक्टर चालक भोजपुर अरुण गाउँपालिका–६ बस्ने २५ बर्षीय महेन्द्र बिक समेत घाइते भएको र उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्