१३५ हेक्टर मकै खेतीमा सरकारको विशेष कार्यक्रम



फिदिम, १९ फागुन

कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ ।

उक्त कार्यालयले मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम लागू गरेको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाको दुई सय रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनमा छ । पकेट क्षेत्र कार्यक्रममा कृषकहरुलाई उन्नत जातिको मकैको विउ, मल, मकै खेतीका लागि आवश्यक औजार उपकरणहरु ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ ।

पकेट कार्यक्रममै साना सिंचाईको प्रवन्ध, रोग किरा ब्यवस्थापनका लागि एकीकृत शत्रु जिव ब्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रम र कृषकहरुलाई तालिमको प्रवन्ध गरिएको कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर बिष्टले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यस कार्यक्रममा पनि मकैको पकेट क्षेत्र कार्यक्रममा जस्तै सरकारी सहयोग रहेपनि सहुलियतको प्रतिशत फरक छ । यी दुई स्थानीय तहमा गरी १२०० रोपनी क्षेत्रफलमा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालन हुने उक्त कार्यालयका प्रमुख बिष्टले जानकारी दिनुभयो ।

यस्तै यी दुई कार्यक्रम सञ्चालन नभएका जिल्लाका अन्य पाँच स्थानीय तहमा मकैको उत्पादकत्व प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम चार स्थानमा गरी कूल ४ हजार रोपनी क्षेत्रफलमा सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत यहाँ उपयुक्त विउ मानिने मनकामना–३ ७५ प्रतिशत छुटमा वितरण गरिनेछ । यस्तै खेतीका लागि यन्त्र उपकरण र मलमा समेत कार्यालयले सहयोग गर्ने निमित्त प्रमुख बिष्टले वताउनुभयो ।

जिल्लामा १८५३० हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने गरेको छ । उक्त क्षेत्रफलमा वर्षेनि करीब ४३ हजार मेट्रिक टन मकै उत्पादन हुने गर्दछ । यहाँका अधिकांश कृषकहरुले मनकामना–३ र देउती प्रजातिको मकैको खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । पहाडी र उच्च पहाडी भूभाग रहेको पाँचथरका अधिकांश कृषकहरुले मकैको खेती गर्ने गरेका छन् । अदुवा, टमाटर लगायत बालीसँग पनि लगाउन सकिने भएका कारण मकै ठूलो मात्रामा उत्पादन हुने गरेको छ ।

तर गत वर्षबाट मकै उत्पादनमा ह्रास आउने थालेपछि सरकारी निकाय र कृषकहरु चिन्तित बनेका छन् । गत वर्ष मात्रै मकै उत्पादन अघिल्लो वर्षभन्दा १२ हजार मेट्रिक टन कम भएको थियो । गत वर्ष फौजी किराको प्रकोपले जिल्लाको तुम्बेवा र कुम्मायक गाउँपालिकाको १२०० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

यस्तै बढ्दो बसाईँसराई, वर्षातको अभाव, युवा पलायन लगायत कारणले मकै खेतीमा ह्रास आइरहेको छ । मकै खेतीका लागि सिंचाईको प्रवन्ध छैन् । वर्षातकै भरमा मकैको खेती हुने गरेको छ । यहाँ उत्पादित अधिकांश मकै स्थानीय स्तरमै खपत हुने गरेको छ ।

यहाँका कृषकहरुले आफूले उत्पादन गरेको मकै आफैँले खाने तथा गाइवस्तुलाई खुवाउने भएकाले चोकर, गाइदाना लगायत वस्तुको आयातविनै पशुपालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्