

फिदिम, १९ फागुन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको सुधारमा गरेको प्रयत्नको सबै क्षेत्रबाट प्रसंशा भइरहेको छ । नेम्वाङले यी अत्यावाश्यक क्षेत्रको सुधारका लागि निकै मेहनतपूर्वक थालेको प्रयत्नलाई सञ्चार माध्यमहरुले महत्वका साथ उठाइरहेका छन र उहाँलाई साथ दिएका छन् ।
मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा सार्वजनिक गर्नुभएको प्रगति विवरणलाई आधार मानेर नयाँ पत्रिका राष्ट्रिय दैनिकले सम्पादकीयमै उहाँको प्रयत्न र पहलको प्रसंशा गरेको छ । उसो त उहाँले मन्त्रालय सम्हालेपछि मन्त्रालय र यस मातहतमा ठूलो बद्लाव आएको भन्दै उहाँको प्रसंशा भइरहेको छ ।
आज प्रकाशित नयाँ पत्रिका राष्ट्रिय दैनिकको सम्पादकीय:
गर्दा किन सकिन्न ?
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो सयदिने कार्यकाल सफल रहेको देखाउन काठमाडौंमा पुरिएका खाल्डाखुल्डीको संख्या र तिनले ओगटेको क्षेत्रफलको आँकडा पेस गरेका छन् । उनले यसबीच नौ हजार पाँच सय खाल्डाखुल्डी पुरेको र त्यसले २४ हजार ३ सय वर्गमिटर क्षेत्रफल ओगटेको बताएका छन् ।
यसबीच उपत्यकामा २७ किमि सडक कालोपत्रे भएको र असारसम्ममा थप ८५ किमि कालोपत्रे गर्ने योजना पनि सुनाएका छन् । उनले केही समयमा गर्न सकिने यातायातसँग सम्बन्धित अन्य सुधारका काम पनि अघि सारेका छन् । सुन्दा सामान्य लाग्ने समाचार हुन् यी । सडकमा खाल्टाखुल्टी पुरिएको र कालोपत्रे गरिएको या चोकचोकमा ट्राफिक–बत्ती थपिएका विषयलाई समाचारका रूपमा सुनेर खुसी हुनुपर्ने समयमा बाँचेका छौँ भन्ने आत्मबोध हुनु नै यो समाचारको सबैभन्दा महत्वपूर्ण सन्देश हो ।
एकजना मन्त्रीले पहल गर्दा काम समयमै सम्पन्न हुन सक्नुको अर्थ हामीसँग जनशक्ति, साधन–स्रोत र प्रविधिको समस्या छैन भन्ने हो । नेम्वाङले मन्त्रालय सम्हालेपछि भएको यो काम किन त्यसअघि भएन ? सडकको गुणस्तरलगायत अनेक कारणले हुने यस्ता खाल्डाखुल्डी पुर्न, नियमित सडक मर्मत गर्न र खाल्डाखुल्डीवाला सडकबाट हुन सक्ने सम्भावित दुर्घटना तथा सवारीजामका समस्या न्यूनीकरण गर्न हरेक वर्ष सरकारले बजेट विनियोजन गरेकै हुन्छ ।
त्यही काम गर्न सडक विभागदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । त्यहाँ उच्चकोटीको दक्ष जनशक्ति कार्यरत छ । सरकारले नियमित खर्च गरिरहेको छ । तैपनि, उपभोक्ताले भने पोखरीजस्ता खाल्डा छल्दै यात्रा गर्नु परिरहेको छ । यो समस्या हाम्रो काम गर्ने संस्कार र जिम्मेवारी पन्छाउने संस्कृतिको एउटा उदाहरण हो । एकजना मन्त्रीले पहल गर्दा यस्ता काम समयमै सम्पन्न हुन सक्छन् भन्नुको अर्थ हामीसँग जनशक्ति, साधन–स्रोत र प्रविधिको समस्या छैन भन्ने नै हो ।
केही वर्षअघि कुलमान घिसिङ विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख भएर आउनासाथ बीसौँ वर्षको लोडसेडिङबाट नेपालीले मुक्ति पाएका थिए । न उत्पादन थपिएको थियो, न कसैको भाग खोसेर आमउपभोक्तालाई वितरण नै गरिएको थियो । लोडसेडिङ हट्यो । त्यसले मानिसको आत्मविश्वास फर्काउन र जनजीवनलाई सामान्य बनाउन खेलेको परल–अपरल मूल्य ठूलो छ ।
त्यसअघि प्राधिकरणकै नेतृत्वको बदमासीका कारण उपभोक्ता र देशले ठूलो मूल्य चुकाएको प्रमाणित भयो । तर, दुःखको विषय, कसैमाथि पनि कारबाही भएन ।वसन्त नेम्वाङको सफलताको अर्को पक्ष भनेको हाम्रो कर्मचारी संयन्त्र खराब होइन, त्यसलाई परिचालन गर्ने नेतृत्व कमजोर हो भन्ने सन्देश पनि हो । सही ढंगले परिचालन गर्दा यही संयन्त्रबाट काम लिन सकिन्छ भन्ने बुझ्न यही उदाहरण काफी छ । यस्तो कार्यतत्परता र जिम्मेवारीबोध सरकारी कामका सबै क्षेत्रमा चाहिएको छ ।
चाहे त्यो खानेपानी योजनामा होस् या विद्युतीकरणमा, यातायातमा होस् या दूर–सञ्चारमा, कृषिमा होस् या उद्योगमा, सबै क्षेत्रमा देखिने काम र संस्कारमा परिवर्तन आवश्यक छ । तर, यो समस्या उपत्यकाको मात्र अवश्य होइन । उपत्यका पनि बनाऊ र देशका अन्य भूभागमा पनि सक्रियतासाथ काम गर । यस्ता साना र नगण्य काममा हुने प्रगतिले पनि देशलाई अघि बढाउने सुधारात्मक कार्यमा सहयोग पुग्छ ।
(यो सम्पादकीय उक्त पत्रिकाको अनलाइनबाट साभार गरिएको हो ।)