

फिदिम, १९ फागुन
दोलखाकी बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको दाबी सहित काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेपछि यसले देशमै ठूलो तरङ्ग ल्यायो ।
‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले शुक्रबार मुद्दा हालेको भोलिपल्ट मुख्यमन्त्री राईले प्रेस संगठन नेपाल प्रदेश नम्बर १ ले गरेको कार्यक्रममा आफूविरूद्ध ठूलो धनराशी खर्च गरी षड्यन्त्र भएको बताएका वताउनुभएको छ । उक्त विषयमा यसअघि कहिल्यै सार्वजनिक रुपमा अभिब्यक्ति नदिनुभएका मुख्यमन्त्री राईले शनिवार निक्कै गम्भीरतापूर्वक आफ्नो धारणा राख्नुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री राईले राख्नुभएको धारणाको अंशः
मैले केही कुरा बोलिनँ भने आफैं अन्यायमा पर्ने देखेको छु । अब मैले बोल्ने बेला आयो । म यहाँहरूको थौरै समय लिन चाहन्छु ।
त्यो मसँग सम्बन्धित छ । म विरूद्ध २०७२ सालबाट एउटा षड्यन्त्र सुरू भएको छ । म सञ्चार मन्त्री भएको दुई÷तीन महिनापछि त्यो षड्यन्त्र सुरू भयो ।
मविरूद्ध विभिन्न ठाउँमा बैठकहरू बसे । एउटा गिरोह त्यसमा सक्रिय भयो । केही पात्रहरूको खोजि गरियो, पात्रहरूको खरिद गरियो । र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो ।
हिजो मात्रै एउटा कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको छ । ०७२ सालेदेखि लगातार मौसमअनुसार सामाजिक सञ्जाल र केही सानामसिना अनलाइनहरूमा मेरो प्रसंगमा केही कुराहरू आइरहेको यहाँहरूलाई सर्वविधितै छ ।
बोल्ने उपर्युक्त समयको पर्खाइमा थिएँ म । आजसम्म यस प्रसंगमा मैले बोलेको थिइनँ । किनभने मेरो कुनै दोष छैन, कुनै कमजोरी छैन । जुन पात्रको कुरा छ ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको र बोलचाल भएको पनि छैन ।
म सञ्चारमन्त्री भएको तीन महिनापछि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ, त्यो म्यासेज एउटा दुइटा होइन । सयौंको संख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ । मलाई म्यासेज आएको नम्बरमा कल ब्याक गर्छु र को मान्छे हो भनेर म चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर म्यासेज लगातार आयो ।
त्यसपछि मैले ती म्यासेजहरूलाई जस्ताको त्यस्तै मोवाइलमा राखेर मैले सञ्चारमन्त्रीको हैसियतमा सरकारको प्रवक्ता हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । ‘यसभन्दा अगाडि पनि तपाईंका बारेमा एउटा गलत पोको लिएर मान्छेहरू यहाँ आएका थिए । आज प्रमाणित भयो कि तपाईंमाथि ठूलो षड्यन्त्र भएको रहेछ । त्यो कुरा पुष्टि भयो । अब तपाईं ढुक्कले केही विचलित नभईकन आफ्नो काममा अगाडि बढ्नुस् र कसैलाई कुनै प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिनेँ । मैले बुझेँ’, प्रधानमन्त्रीज्यूले भन्नुभयो ।
तर म्यासेज र मलाई त्यसप्रकार ह्यारेस्ट गर्ने काम रोकिँदैन । त्यसपश्चात जब सरकारबाट हामी बाहिरियौं त्यसपश्चात मैले सात पेजको म्यासेज प्रिन्टआउट गरेर ती पात्रले मेरो मोवाइलमा छ वटा नम्बरबाट पठाएका म्यासेजहरू प्रिन्टआउट गरेर त्यो गिरोहको एउटा नाइके जसको नाम किटानी गरेर मैले पार्टीमा एउटा एजेन्डा मैले दर्ज गरेँ । पोलिटव्युरो बैठकमा ।
मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेन्डा दर्ज गरेर पोलिटव्युरो बैठकमा दुई घण्टा छलफल भयो । बैठकमा एकमतले ती पात्र गलत हुन् भन्ने कुराको निश्कर्ष निस्क्यो ।
एउटा छानविन समिति गठन गरेर त्यस गिरोहमा त्यस अपराधमा जसले मेरो व्यक्तिगत राजनीतिक जीवनलाई समाप्त गर्नको निम्ति करोड पैसा खर्च गरेर क्रियाशील छ, सक्रिय छ । त्यो गिरोहलाई बाहिर ल्याउने हिसावबाट एउटा छानविन कमिटी बनोस् । त्यो बनाइयोस् मैले आग्रह गरेँ ।
अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने र उहाँले निश्कर्ष सुनाउनुभयो र बैठक सकियो । मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेज सहित छ नम्बरसहित मैले सिआइबीमा आवश्यक अनुसन्धानको निम्ति मैले निवेदन गरेँ ।
प्रहरीले प्रारम्भिक मान्छेमाथि अध्ययन गर्याे कि यी मान्छे स्वभाविक मनस्थितिमा छैनन् । त्यसो हुँदा अहिले कारबाही अघि नबढाऔं हामी अध्ययन अनुसन्धान गर्छौं भन्ने कुरा त्यतिबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सांसद हुनुहुन्छ, नवराज सिलवाल उहाँले त्यो जवाफ दिनुभयो ।
यसबारे मैले आजका मितिसम्म कहिँकतै प्रतिक्रिया दिएको थिइनँ। तर लगातार लगातार ममाथि त्यसप्रकारको षड्यन्त्र र गिरोह के कारणले हो मलाई थाहा छैन । म सबैलाई भन्न सक्छु शिर ठाडो पारेर, म भुइँबाट आएको मान्छे हो ।
म विकट गाउँमा जन्मेको मान्छे हो । भुइँबाट आएको मान्छे कम्युनिष्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो पाएको जिम्मा राम्रो र फत्ते गर्दै यो ठाउँमा आएको मान्छे हो । म कसैको चाकडी गरेर आएको होइन ।
कसैको आशीर्वादप्राप्त गरेको होइन । म मिडियाबाजी गरेर, प्रचारबाजी गरेर अनेक थोकको साहरा लिएर आएको मान्छे होइन । मेरो जीन्दगी शतप्रतिशत पारदर्शी छ । म चुनौती दिन चाहन्छु सबैलाई आर्थिक र नैतिक मामलामा आजका मितिसम्म कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएर राखेको छैन । म यो कुरा स्पष्टसँग भन्न चाहन्छु ।
यसका बारेमा बोल्ने समयको पर्खाइमा थिएँ भनेर मैले अघि भनिसकेँ । किनभने मलाई यसबारेमा पुलिसले पनि नबोल्न, प्रतिक्रिया दिनुको अर्थ छैन भन्या े। पार्टीले पनि भन्यो । तर आज बोल्नुपर्ने फन्डा ठ्याक्कै आयो । अब दुधको दुध पानीको पानी छुट्टिने समय आयो । केहीदिनमा यो छुट्टिन्छ यहाँहरूले थाहा पाउनुहुन्छ ।
कुनै भ्रम नरहोस् कि यो काहीँ चुकेको थियो कि । यसले काहीँकतै गल्ती गरेको थियो कि यस्तो भ्रम यहाँहरू कसैले पनि नराखिदिनु होला । प्रेस संगठनको यो प्रदेशभरिको मिडिया क्षेत्रमा काम गर्ने साथीहरू यहाँ हुनुहुन्छ । यो मामिलामा मिडियाहरू दुरूपयोग भएका छन् । मिडिया किनिएका छन् । त्यसको पनि खोजि गरिदिन म आग्रह गर्न चाहन्छु ।
आधा घण्टामा पत्ता लगाउनुहुन्छ पात्रहरू को हुन् मिडियामा यो खेतीमा लाग्नेहरू । त्यो कुन अनलाइन हो धेरै समय लाग्दैन । १५र२० मिनेटमा पत्ता लगाउन सक्नुहुन्छ । यो धन्दामा सामेल मान्छेहरू को–को छन् भन्ने मान्छेहरू पनि तपाईं पत्ता लगाउनुहुन्छ । मैले पार्टीमा नाम नै तोकेर दिएको छु ।
कतिपय पात्रहरूको नाम त्योबेलामा राखिनँ होला । तर मुल मान्छेको नाम किटानीका साथ मैले राखेको छु । सायद विश्वको कम्युनिष्ट आन्दोलनमा ममाथि जुन खालको षड्यन्त्र भएको छ यो षड्यन्त्र कम्युनिष्ट पार्टीमा सायद अहिलेसम्म भएको छैन होला । हुँदैन होला ।
चुनावका बेला ममाथि दशवटा गोली र एउटा बम प्रहार गरियो । त्यो तर्साउनका लागि होइन । ठाउँका ठाउँ सिध्याउनका निम्ति ममाथि त्यो आक्रमण भएको थियो । यो घटनालाई पनि जोडेर पार्टीभित्र ध्यान आकर्षित गरेको छु । त्यसैले वास्तविकता, तथ्य यो हो । बोल्ने बेला आएको हुनाले मैले आज यति कुरा राखेँ । कुनै भ्रम नरहोस् । अनेक घटना आइरहेका छन् त्यही मेलोमा यसलाई जोडेर ल्याउन खोजिराखिएको छ । तर कुनै पनि भ्रमहरू नराख्नको निम्ति म आग्रह गर्न चाहन्छु ।
देश र जनताको शिर निहुरिने गरिकन झुक्केर पनि मबाट गल्ती हुँदैन । त्यति कुरा दावाका साथ म भन्छु । म फुकीफुकी पाइला चाल्ने, बोल्ने मान्छे । नैतिक मूल्यको जगमा निष्ठामा जनता र देशप्रति प्रतिवद्ध भएर काम गर्दै आएको म सिपाही हुँ ।
यस्ता षड्यन्त्रहरूको पर्दाफास कसरी गर्न सकिन्छ ? तपाईंहरूले सहयोग गरिदिनुस् । मेरो अपिल छ । यो षड्यन्त्र गम्भीर छ, सामान्य छैन । ठूलो धनराशी खर्च गरेर एउटा इमान्दार कम्युनिष्ट पार्टीको कार्यकर्ता सिध्याउनको निम्ति चालिएको कदम छ, गिरोह छ त्यो गिरोह अध्ययनबाट बाहिर आउनुपर्छ । यस्तो खेती र धन्दामा कम्युनिष्ट पार्टीको सदस्य कोही नलागोस् । यो कुरामा सबै साथीहरूले साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।