पुँजिवादले निम्त्याएको भ्रष्टाचार



प्रदीप बाँस्कोटा

प्रदीप बाँस्कोटा

कुनै पनि समाज र देशको आर्थिक तथा सामाजिक उन्नति, प्रगति र बिकासको बाधक तत्व भ्रष्टाचार हो । प्रचलित ऐन, कानून र नैतिकतालाइ भत्काएर आफू अनुकुल निर्णय गरि वा गराई गरिने भ्रष्ट क्रियाकलाप नै भ्रष्टचार हो । भ्रष्टचार नीतिगत पनि हुन्छ । हाल नेपाली समाजको विद्यमान अवस्थामा सरकारी क्षेत्र, व्यापारिक क्षेत्र, शैक्षिक क्षेत्र, गैरसरकारी क्षेत्र, स्वास्थ्य क्षेत्र लगायत समाजमा रहेका भिन्न प्रकृतिका संस्थाहरू समेत भ्रष्टाचार मुक्त छैनन् भने नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार दिनानुदिन मौलाइरहेको अखबारका पानाहरूमा हेर्न पाइन्छ ।

भ्रष्ट व्यक्तिलाई राजनीतिक संरक्षण गर्नु भ्रष्टाचारको मुख्य कारण हो । मानिसहरू सुविधाभोगी मनोबृत्तिमा रमाउनु, अवसरवादी तथा महत्वाकाङ्क्षी हुनु, नैतिक मूल्य र मान्यतालाई वास्ता नगर्नु, नैतिक शक्षाको अभाव हुनु, नातावाद र कृपावाद, सामान्य जिबिकोपार्जनका लागि उचित पारिश्रमिक नपाउनु र भ्रष्टाचार नियन्त्रणका लागि स्थापित संस्थाहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसक्नु, ऐन नियमको अभाब, भएका नियमहरू प्रभाबकारि कार्यान्वयन नहुनु र भड्किलो निर्वाचन प्रणालीले राज्य तथा समुदायमा भ्रष्टाचार जन्माउछ ।

ऐतिहासिक दुई तिहाई नजिक मत प्राप्त गरेको जनताको लोकप्रिय पार्टीले सरकारको नेतृत्व गरिरहँदा जनता भोकभोकै मर्नु नपर्ने, नाङ्गै हिड्नु नपर्ने, स्वास्थ्य उपचारको गुणस्तरीय सेवा प्रवाह गर्ने, बुढेशकालमा बासस्थानको चिन्तामा पिरोलिनु पर्ने छैन । यातायातको सुलभ अवस्थाको सृजनाका साथै प्रदुषणमुक्त वातावरण बनाएर देशबासिले धुलो धुवाको सिकार बन्नु पर्दैन । फोहोर मैलाको उपयुक्त व्यवस्थापन गरि दुर्गन्धित र अस्वस्थ वातावरणबाट जोगाइनेछ । विद्यार्थीले विद्यालय जान डोरीमा झुण्डिएर कहालीलाग्दो यात्रा गर्नुपर्ने छैन सरकार जनमुखि हुने भएमा । राष्ट्रले समृद्धिको नारा जब घन्काउँछ तब भ्रष्टाचार नियन्त्रण अत्यन्तै महत्वपूर्ण हुन्छ । बाख्रा छोडेर हरियो घाँस बचाउन खोज्नु मुर्खता हुन जान्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणात्मक सुचकाङ्कमा नेपाल ११३ औँ स्थानमा रहेको छ । १८० देश मध्ये गरिएको सर्वेक्षण हो यो । धेरै भ्रष्टाचार गर्ने मुलुकको सूचिमा नेपाल विजेता नै हो भन्नु अन्याय नहोला । जुन कुरा हामी नेपाली र नेपालका लागि दुःखद छ । विश्वमा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क देखिएको छ । एक सय पूर्णाङ्कलाई आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएर प्रथम स्थानमा छ भने नेपालले ३४ नम्बर ल्याएको छ । यो सन् २०१९ को तथ्याङ्क हो । अघिल्लो साल नेपालले ३१ अङ्क मात्रै ल्याएको थियो ।

विश्वमा सबै भन्दा बढि भ्रष्टाचार हुने देश सोमलिया हो । जसले ९ अङ्क मात्र प्राप्त गरेको छ । ताबुक र बेल्चासँग रगत पसिना साटेर भित्रिएको रेमिट्यान्स, मासु र रक्सिमा भोट खरिद गरि सोझासिधा जनतालाई छलेर मत प्राप्त गर्ने कतिपय नेताहरू सरकारी बजेटको दुरूपयोग गर्ने गरिरहेका छन् । लज्जा र आत्मग्लानी समेत नहुने भ्रष्ट नेता र भ्रष्ट समाजको नियन्त्रण अनिवार्य छ समृद्धिका लागि ।

मुलुकमा रूजुको भन्दा बेरूजुको चाङ चुलिएको छ । जसमा अनुचित काम गर्ने अधिकारी वा सार्वजनिक पद धारण गरेका व्यक्ति बढि जिम्मेवार छन् । तर उनिहरूलाई अख्तियारले ठाउँको ठाउँ कानूनी कारबाही पर्याप्त मात्रामा गर्न सकेको छैन । कताकता अख्तियार पनि राजनीतिक दलको छत्रछाँयामा नाचेको भान हुनजान्छ । सार्वजनिक व्यक्तिले अनुचित व्यक्तिगत लाभ उठाउदा समेत यो निकाय मौन प्राय छ ।

परिवर्तनका निम्ति लडेका शक्तिहरूको दुःख पीडा कम छैन यहाँ । यहाका दलहरू सत्ता बाहिर रहदा चर्काे रूपमा गरिबीको मुद्दा उठान गर्ने र सत्तामा पुगेपछि एजेण्डा बिर्सिएर व्यक्तिगत लाभका निम्ति भ्रष्ट बन्नु समाजको विशेषता नै भइसक्यो । जो जति निन्दा गरेपनि कम हुन्छ । अत्यन्तै ठूलो धनराशि खर्चिएर जनप्रतिनिधि छनौट गर्ने यो निर्वाचन प्रणालीले भ्रष्टाचार जन्माइरहेको छ । चुनावी मैदानमा लड्दा खर्चिएको रकम मन्त्री हुँदा उठाउनेहरू धेरै छन् । जुन राज्यकोषको ब्रह्मलुट हो । जनतालाई धोका हो ।

युवाहरूलाई बैदेशिक रणभूमिमा रगत र पसिना बगाउन बाध्य बनाई राज्यको दोहन गर्ने वृद्धहरूको अब विकल्प खोज्नु पर्छ । युवाहरूले देश हाक्न पाउनुपर्छ । समृद्ध नेपाल निर्माण अभियानमा मुख्य भूमिकामा युवाहरू हुनुपर्छ । भ्रष्टाचारको अन्त्य गर्न सरल जीवनशैली अपनाउने प्रण गर्नुपर्छ । पुँजिवादले पैसालाई महत्व दिने भएकाले भ्रष्टाचार मौलाई रहेको छ ।

मान्छेले पैसाका लागि मानिस मार्नेसम्म गर्छन् । अकुत सम्पति आर्जनका लागि ज्यान नै फाल्छन् । आत्मघाती बिस्फोटक पदार्थहरू विस्फोट गरेर आफ्नो ज्यान नै समाप्ति समेत गर्छन ।
भ्रष्टाचार र पुजिँबाद एक अर्कामा पर्यायवाची शब्दको रूपमा विकसित भएका छन् । मजदुरहरूको कठोर र निरन्तर परिश्रमबाट आर्जित मुनाफा मालिकले आर्जन गरी मजदुर माथि चरम शोषण गरिरहेका छन् । पँुजिवादी देशहरूमा पुँजिपति उद्योगपतिहरू हुन्छन् ।

पुँजिपतिहरूले वस्तु उत्पादन गरेर अधिकतम वस्तुको मूल्य वृद्धि गराई आम समुदायलाई आर्थिक दोहन गरि नाफा कमाउनु यिनीहरूको मुख्य उद्देश्य रहन्छ । यो व्यवस्था भएका मुलुकहरूमा जनतालाई चरम शोषण र अन्याय र अत्याचार हुँदा पनि सरकार मौन हुन्छ, मुकदर्शक बन्छ र भूमिकाविहीन बन्न जान्छ । अर्थात जसको शक्ति उसको भक्ति भन्ने उखान चरितार्थ हुन्छ ।

जब मानिसमा अत्यधिक सम्पति आर्जन गर्ने, अकुत पैसा कुम्ल्याउने महत्वकाङ्क्षा वृद्धि हुन जान्छ, पारिवारिक जीवनयापन भड्किलो बन्न जान्छ । खर्चहरू बढेर गई बिलासी जीवन जिउनु भ्रष्टाचारको कारक तत्व हो । आयमा वृद्धि नगरी खर्चमा आएको वृद्धिले भ्रष्टाचार निम्त्याउँछ । हाम्रो माइन्ड पनि मनि माइन्डेड भयो । जति कार्य सम्पन्न गछाँ त्यहाँ केही न केही लाभ हासिल गर्नुपर्छ भन्ने सोच्न थाल्यौँ । हामी नितान्त व्यक्तिगत प्रगति उन्नतिको मार्गमा लम्किन खोज्याँै । जसले पुँजिबादको पक्षपोषण गर्याे र भ्रष्ट मान्छेको जन्म भयो ।

यदि हामीले सामूहिकता, समाजलाई प्राथमिकता दिएर हाम्रा गतिविधि सञ्चालन गर्ने, राज्यले राज्यका गतिबिधि सञ्चालन गर्ने हो भने पक्कै पनि समाजवाद उन्मुख दिशा निर्धारण गरि यात्रा तय गर्न सम्भब छ । पुँजिबादले जन्माएको भ्रष्टाचारलाई नियन्त्रण गर्न पुँजिबादको अन्त्य अनिवार्य सर्त रहन्छ । राष्ट्रिय पुँजिको निर्माण गरेर समाजबादको यात्रा तय गर्नका लागि भ्रष्टाचार नेपाली समाजमा निकै महङ्गो सावित हुँदै गएको छ । जरा फिजाएर पकड जमाएको भ्रष्टाचारको जरा फेद लगाएर नकाटेसम्म समृद्ध नेपाल सुखी नेपाली असम्भव हुनेछ । (लेखक अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोगका सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्