चार स्थानीय तहमा पञ्चवर्षीय गुरुयोजना निर्माण हुने



फिदिम, १९ फागुन

पाँचथरका चार वटा स्थानीय तहमा पञ्चवर्षीय आवधिक गुरुयोजना निर्माण हुने भएको छ ।

आवधिक योजना निर्माणका लागि शनिबार जिल्लाको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबी बजारमा सरोकारवालाहरु एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । आवधिक गुरुयोजना स्विटजरल्याण्डको प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । कार्यशालाको प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति पाँचथरको संयोजनमा आवधिक गुरुयोजना निर्माणसम्बन्धी कार्यशालामा चार वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु, मुख्य राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु तथा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।

जिल्लाका फाल्गुनन्द, मिक्लाजुङ, तुम्वेवा र कुम्मायक गाउँपालिकाको उक्त पञ्चवर्षीय आवधिक गुरुयोजना तयार पार्न उक्त कार्यशाला आयोजना गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कार्यशालामा पञ्चवर्षीय आवधिक योजना भित्र समेटिने विषयवस्तुहरु, तिनको छनौट तथा एकीकृत योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन, आवधिक योजनासँग वार्षीय योजना र नीति तथा कार्यक्रमको तालमेल लगायतका विषयमा छलफल भएको थियो ।

गुरुयोजनालाई मुर्त रुप दिन आगामी चैतमा सरोकारवालाहरुका लागि योजना निर्माण तालिम सञ्चालन गरिने जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले जानकारी दिनुभयो । यसअघि पाँचथरको याङवरक गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना लागू गरिसकेको छ भने फालेलुङ गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । (सौर्य अनलाइनबाट साभार)

प्रतिक्रिया दिनुहोस्