गाँजा सहित ८ जना पक्राउ



बिराटनगर, १५ फागुन

उदयपुर र मोरङका २ स्थानबाट बुधवार राती नियन्त्रित लागूऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा सग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–३ चिचिला टप्पुमा लागूऔषध गाँजाको बिक्री बितरण तथा ओसार पसार भइरहेको सूचना पाए लगत्तै बुधवार राती साँढे ११ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षीय श्याम माझीलाई २ केजी गाँजा सहित घरबाट नै पक्राउ गरेको हो ।

यसैगरी गाँजा ओसार पसारमा सग्लग्न रहेका स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ बर्षकै जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई समेत पक्राउ गरेको हो भने बुद्धीमान माझीले घर नजिकै केरा घारीमा लुकाई छिपाई राखेको थप २ केजी गाँजा समेत बरामद गरेको हो ।

यसैगरी मोरङको जहदा गाउँपालिका–३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भइरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्