मन्त्री नेम्वाङको अनुगमनपछि राँके–रबी–भेडेटार सडक निर्माणले गति लियो



फिदिम, १३ फागुन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि राँके–रबी–भेडेटार सडक निर्माण कार्यले गति लिएको छ ।

मन्त्री नेम्वाङ सहित मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्वद्ध पक्षहरुलाई निर्देशन दिएपछि निर्माण कार्यले गति लिएको हो । पछिल्लो पटक यस सडकको राँके–रबी खण्डमा सडक विस्तारको कार्यले गति लिएको छ । निर्माण कार्यमा निर्माण उपकरण तथा कामदारको संख्या समेत बढेको छ ।

राँके–रबी खण्डको अधिकांश स्थानमा सडक विस्तार (ब्याक कटिङ)को कार्य अघि बढेको छ । गत वर्षको पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको यो सडकको एक वर्षसम्म निर्माण कार्य ५ प्रतिशत समेत पूरा भएको थिएन् । निर्माण कार्यले गति लिन नसकेपछि मन्त्री नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको टोलीले गत पुस २५ गते स्थलगत अनुगमन गरेको थियो ।

१०१ किलोमिटर लामो उक्त सडकमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने तथा धेरै चट्टान समेत नभएका कारण निर्माण कार्य अघि बढाउन ठूलो चुनौति छैन् । सडक निर्माणमा स्थानीय स्तरमा अवरोध र समस्या समेत नहरेकाले द्रूत गतिमा निर्माण अघि बढाई निर्धारित समयमै निर्माण कार्य पूरा गर्न मन्त्री नेम्वाङले निर्माण कम्पनी र उक्त सडक हेर्ने आयोजनाका प्रमुखलाई निर्देशन दिनुभएको थियो । मन्त्री नेम्वाङको निर्देशनपछि निर्माण कम्पनीका सञ्चालक र आयोजना कार्यालयले निर्माण प्रगतिको निरन्तर अनुगमन गर्दै आएको छ ।

स्थानीयवासीका अनुसार पछिल्लो पटक राँके–रबी खण्ड निर्माण कार्यले गति लिन थालेको छ । अनुगमनका क्रममा मन्त्री स्थानीयवासीसँग अन्तरकृया गर्दै मन्त्री नेम्वाङले सडक निर्माणमा चासो राख्न आग्रह गर्नुभएको थियो । त्यसपछि स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको चासो बढ्दै गएको छ । निर्माण कार्यले पछिल्लो पटक गति लिएको र त्यसको निरन्तरता आवश्यक रहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले वताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सस्तो ऋण सहयोग अन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको पुस २० गते प्रधानमन्त्री ओलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबीमा यो सडकको शिलान्यास गर्नुभएको थियो । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ । यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडकको पूर्ण ट्र्याक खोल्ने कामले नै अपेक्षाकृत गति लिन नसकेपछि मन्त्री नेम्वाङ सहितको टोलीले स्थलगत निरीक्षण तथा अन्तरकृया गरेको थियो । सात मिटर चौडा बाटोले यहाँका धेरै ब्यापारिक केन्द्रहरु र ठूलो परिमाणमा कृषि उपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि यो सडकको ट्र्याक खोलिएपनि स्तरोन्नति र कालोपत्रे हुन सकेको थिएन् ।

भारतको आयात–निर्यात (एक्जिम) बैङ्कको रु. ३ अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । यस आयोजनाको ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग रहेको छ भने बाँकी १३ प्रतिशत नेपाल सरकारले लगानी गरेको छ । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्