पिता सहित ६९औँ जन्मदिनमा प्रधानमन्त्री ओली जन्मघरमा



आठराई, ११ फागुन

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नु भयो । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतमा च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरियो । प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, भौतिक पूर्वाधारमन्त्री वसन्तुकुमार नेम्वाङ, प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्र राई र विजय सुब्बा लगायत प्रधानमन्त्रीका साथ हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गर्नुभयो । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७औँ शाखाको उहाँले उद्घाटन गर्नुभयो ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिनुभएको हो । ओलीले पहिलो पटक जन्मघरमा पुगेर जन्मोत्सवको केक काट्नुभएको हो । ओलीले केक काटेर श्रीमती राधिकालाई खुवाउनुभएको थियो । उहाँको जन्मघरमा ३० मिनेटसम्म पालैपालो ओलीलाई शुभकामना दिइएको थियो ।

जन्मदिनको केक काट्नुअघि उहाँले आफ्नो पुख्र्यौली घरको अवलोकन गर्नुभएको थियो । घरको भित्रबाहिर वरिपरी करिव दश मिनेटसम्म चहार्नुभयो । गम्भीर देखिनुभएका प्रधानमन्त्री ओली जन्मदिनको विशेष समारोहमा भावुक पनि बन्नुभयो ।

ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्नुभयो । कार्यक्रममा ओलीले बाल्यकाल सम्झदै नजिकै रहेको तमोर नदीको किनारै किनार खाली खुट्टा हिँडेको सम्झनुभयो ।

ओलीले आफ्नो पाइला जहाँजहाँ पुग्छ त्यहाँ विकास हुने वताउनुभयो । ‘म यहाँ आए बिजुली र सडक आयो, खानेपानी र सिंचाई पनि आउनेछ’, उहाँले भन्नुभयो ।

आठराईमा सिटीभीटीको प्राविधिक शिक्षा, ५० शैय्याको अस्पताल, चुहानडाडाँ विमानस्थल लगायतका विकासे काम चाँडै सम्पन्न हुने बताउँदै प्रधानमन्त्रीले विदेश गर्ने श्रम स्वेशमा गरिए आफ्नै गाउँमा सुन फल्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्