तिब्र विकासमार्फत जनतालाई सुख सुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रधानमन्त्री ओली



यासोक (पाँचथर), ११ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्र विकास मार्फत जनतालाई सुख सुविधा उपलब्ध गराउन सरकार लागिपरेको वताउनुभएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा वृहत पम्पिङ खानेपानी आयोजना तथा विद्युतिकरणको आज समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तिब्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको वताउनुभयो । आफू झण्डै ५० वर्षअघि कुम्मायकको यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको वताउनुभयो ।

“हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको वताउँदै मोटरबाटो, विद्युत, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दुरगामी महत्वका आयोजनाहरु अघि बढाएको वताउनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनाहरु सहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको वताउनुभयो । “विकास, विजुली र बाटो, शिक्षा र स्वास्थ्य, उत्पादन र रोजगारी यीनै कुराहरुसँग जनताको सुख सुविधा जोडिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यीनै कुरामा हाम्रो ध्यान गएको छ ।” प्रधानमन्त्री ओलीले यहाँ महिलाहरुको दुःख अन्त्य भएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत महशुलमा छुट दिन आफू सकारात्मक रहेको वताउनुभयो । प्रधानमन्त्री ओलीले सुख सुविधा पुगेका स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । “उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईँहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।”

आयोजनाको उद्घाटनको अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९ औँ जन्मदिनको सामूहिक शुभकामना ब्यक्त गरेका थिए । शुभकामना ब्यक्त गर्ने सबै सहभागीहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्नो उपचारमा सहयोग गर्ने डा. रमेश सिंह भण्डारी, डा. दिलिप शर्मा लगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराउनुभएको थियो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले मुलुकभर खानेपानीको ब्यवस्थापन चुनौतिपूर्ण रहेको वताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धताका लागि सरकार प्रयत्नशील रहेको वताउनुभयो । “खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले खानेपानीको सहि ब्यवस्थापनलाई पहिलो खुट्किलोको रुपमा लिएका छौँ”, मन्त्री मगरले भन्नुभयो, “ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ ।” उहाँ खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वी नेपालमा ठूला पूर्वाधारका आयोजना अघि बढेको र थप आयोजनाहरु अघि बढाइने वताउनुभयो । राँके–रबी–भेडेटार सडक, तमोर कोरिडोर, मध्यपहाडी लोकमार्ग जस्ता आयोजनाले निकट भविश्यमै पूर्णता पाउँने उहाँले वताउनुभयो । मन्त्री नेम्वाङले पाँचथर सहित पूर्वका सबै जिल्लाहरुमा विद्युतिकरणका चाँडै सम्पन्न हुने वताउनुभयो ।

प्रधानमन्त्रीकै अगुवाईमा तमोर जलाशययुक्त आयोजना निर्माण र केचना कञ्चनजंघा पर्यटकीय क्षेत्र निर्माण, मेची राजमार्गको चारआली–फिदिम खण्डको विस्तार अघि बढेको मन्त्री नेम्वाङको भनाई छ । घरघरमा बाटो, खानेपानी र विद्युत पुगेकोमा मन्त्री नेम्वाङले स्थानीयवासीलाई बधाई दिनुभयो ।

प्रधानमन्त्री ओलीले चार वर्ष अघिबाट निर्माण सुरु भई हालैबाट सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आज कुम्मायक गाउँपालिका वडा नं. १ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो ।

खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/०७३ बाट वृहत पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । यी गाविसहरुलाई सरकारले वि.सं. २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषित गरेको थियो । रु. ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ ।

कुम्मायक गाउँपालिका वडा नं. ५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी १४३४ मिटर उचाईमा रहेको यासोक बजारसम्म पु¥याई खानेपानी वितरण सुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट विभिन्न सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)हरुको सहायताले डाँडासम्म पानी पु¥याइएको हो ।

प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रशारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन साट वटा, खोल्सा क्रसिङ र कार्यालय भवन एक÷एक वटा, पानी ट्याङ्की ११ वटा र गार्डघर १० वटा निर्माण गरिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो ।

प्रशारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण सम्पन्न भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रशारण लाइन १७.४ किलोमिटर रहेको छ भने वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको सचिव बेल्बासेले जानकारी दिनुभयो । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५ वटा, खोल्सा क्रसिङ ३४ वटा, भल्भ च्याम्बर ११५ वटा रहेका छन् ।

आयोजना निर्माण पूर्व यहाँका ३ हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण गरिएको हो । हालसम्म यहाँका २ हजार २ सय घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घर परिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कुम्मायक गाउँपालिकामा पर्ने साविकका तीन वटा गाविसलाई अध्याँरोमुक्त घोषणा गर्नुभयो । हाल कुम्मायक गाउँपालिका वडा नं. १, ३, ४ र ५ मा पुनर्संरचित साविकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अध्याँरोमुक्त घोषणा भएका हुन् । चार वर्षअघिबाट विद्युत विस्तारको काम सुरु भई यहाँ रु. १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतिकरण सम्पन्न भएको हो ।

साविक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत सहकारी संस्थाको अगुवाईमा ८ सय घरमा सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमअन्तर्गत विद्युतिकरण सम्पन्न भएको हो । नेपाल सरकारको रु. २ करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताहरुबाट सङ्कलित रु. २६ लाख १४ हजार ७४९ को लागतमा यहाँ विद्युतिकरण पूरा भएको हो । यहाँ त्रिपुरेश्वर कन्डक्टर/जयदुर्गे इन्जिनियरिङ जेभी, काठमाण्डौं विद्युतिकरणको काम गरेको थियो ।

यस्तै यासोक र रानीगाउँ गाविसमा फिदिम विद्युत सहकारी संस्था लिमिटेडको अगुवाईमा रु. ७ करोड ९० लाख ४ हजार २८० को लागतमा विद्युतिकरण सम्पन्न भएको हो । यहाँ उपभोक्ताहरुले रु. ७९ लाख ४२८ सङ्कलन गरेका थिए भने नेपाल सरकारको रु. ७ करोड ११ लाख ३ हजार ८५२ लगानी छ ।

यहाँ हालसम्म १ हजार ११५ घरमा विद्युतिकरणको कार्य पूरा भएको सहकारी संस्थाले जनाएको छ । यहाँ वाइबा इन्फ्राटेक प्रा.लि., काठमाण्डौंले विद्युतिकरणको काम गरेको थियो । निकै पिछडिएको यस क्षेत्रमा विद्युतिकरण सम्पन्न भएको भन्दै उपभोक्ताहरुले खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्