

फिदिम, ७ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली यही फागुन ११ गते पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक तथा तेह्रथुमको आठराई गाउँपालिकाको इवामा आयोजित कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
उक्त दिन प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त क्षेत्र घोषित पाँचथरको यासोकमा निर्माण सम्पन्न भएको देशकै ठूलो मध्येको ‘यासोक वृहत पम्पिङ खानेपानी आयोजना’ को उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली, खानेपानी मन्त्री विना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायत उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको यासोक वृहत पम्पिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्रीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आठराईका इन्चार्ज भीम घिमिरेले जानकारी दिनुभयो । आठराईको सुकेपोखरीबाट प्रधानमन्त्री ओलीको जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँगुबाट ताप्लेजुङको दोभान पुग्ने मदन भण्डारी मार्गको उक्त दिन शिलान्यास हुन लागेको हो । उक्त मार्गको सुकेपोखरी–प्रमाणी मा.वि. खण्ड कालोपत्रेको काम यही वर्षबाट सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारीका साथ शिलान्यास कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रधानमन्त्रीको जन्मदिन समेत रहेको उक्त दिन प्रधानमन्त्रीको जन्म घरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । नेकपा नेता घिमिरेका अनुसार यहाँ प्रधानमन्त्री ७० वर्षभन्दा माथिका चार सय जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुने भएको छ । सबै जेष्ठ नागरिक आठराई गाउँपालिकाकै हुनेछन् ।
यसैगरी आठराई गाउँपालिका भित्रका विभिन्न विद्यालयका एक हजार दुई सय जना विद्यार्थीहरुलाई प्रधानमन्त्रीले शैक्षिक सामग्री वितरण गर्नुहुने भएको छ । “इवाका सबै विद्यार्थीहरु र अन्य वडाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ” घिमिरेले भन्नुभयो ।
प्रधानमन्त्री तथा अन्य अतिथिहरुको स्वागतका लागि आठराईका विभिन्न ठाउँमा स्वागत गेट निर्माण भइरहेका छन् भने प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रमको आयोजना गरिएको छ । ‘केपी शर्मा ओली ट्रष्ट’ले प्रधानमन्त्रीको जन्मथलोमा झण्डै चार सय रोपनी जमिन खरिद गरेको छ । प्रधानमन्त्रीको इच्छाअनुसार उहाँले यहाँ कृषि अनुसन्धान केन्द्र निर्माणको घोषणा गर्ने स्थानीयवासीको अपेक्षा छ ।
यता आर्थिक वर्ष २०७२/०७३ मा निर्माण सुरु भएको यासोक वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन हुन लागेको हो । सरकारले साविकका यासोक, रानीगाउँ र स्याबरुम्बा गाविसलाई २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का तीन हजार ४३ घरका १३ हजार दुई सय ६६ स्थानीयवासी लाभान्वित हुनेछन् । घर–घरमा खानेपानी पु¥याउन दुई हजार भन्दाबढी घरमा धारा जडान भइसकेको छ भने र बाँकी घरसहित प्रसारणलाइनमा केही धारा जडान गर्ने काम जारी छ ।
आयोजनाको मुख्य प्रशासरण लाइन १७ किलोमिटर र मुख्य वितरणलाइन एक सय ९२ किलोमिटर लम्बाइ रहेको छ । आयोजनाको प्रसारण लाइन र मुख्य वितरण लाइनका लागि अलग–अलग ठेक्का लागेको थियो । मुख्य प्रसारणलाइन (पम्पिङ) का लागि रु. १९ करोड ५२ लाख ५० हजारमा प्रेरा–स्वामीनारायण जेभी र वितरण लाइनका लागि रु. २२ करोड १० लाखमा कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले निर्माणको जिम्मा पाएका थिए ।
तमोरको पानी अन्तिम स्टेसनसम्म प्रतिसकेन्ड २० दशमलव तीन लिटर पानी दरले आइपुग्छ । आयोजनाका लागि उपभोक्ताहरूले चार करोड ६१ लाख ७१ हजार आठ सय ५१ रुपैयाँ जम्मा गरेका थिए । आयोजनाको अनुमानित लागत रु. ५१ करोड ३० लाख रहेको उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले जानकारी दिनुभयो ।