आजकाे संयाेग : महरा जेलबाट छुट्दैगर्दा तुम्बाहाङफे मन्त्री पद सम्हाल्दै



काठमाडौं , ५ फागुन

व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो । संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उहाँकै कार्यकालकी पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रीमा नियुक्त गर्नुभयाे ।

संसदमा दुई पूर्व उच्च पदस्थमध्ये एक महराले जवरजस्ती करणी उद्योगमा सभामुख पद गुमाउँदै जेलसम्म जानु परेको थियो । यता पूर्वउपसभामुख तुम्बाहाङफेलाई नेकपा नेतृत्वले सभामुखमा नपत्याउँदा सभामुख-उपसभामुख एकै दलबाट नहुने कानुनी व्यवस्थाका कारण पद छाड्नु परेको थियो ।  महरा बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान भएपछि उपसभामुख तुम्बाहाङफेले अर्काले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै करिब तीन महिनासम्म पद नछाड्ने अडान लिइरहनुभयाे ।

तर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अनिच्छुक भएपछि उहाँले पद गुमाउनुभएकाे थियाे । दुवै अध्यक्षले उपसभामुख पद त्यागेमा मन्त्री बनाउने आश्‍वासन दिनुभएकाे थियाे । दुई अध्यक्षको उक्त आश्वासन प्रतिनिधि सभाकी समानुपातिक सांसद तुम्बाहाङफेका लागि सोमबार पूरा भयो ।

तुम्बाहाङफे अपरान्ह ४ बजे मन्त्रि पदको सपथ लिन शीतल निवास पुग्दा महरा डिल्ली बजार कारागारमा पूर्वआइजी रमेशचन्द्र ठकुरीको हातबाट बिदाइको खादा लगाइरहनुभएकाे थियाे । सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएकाे थियाे ।

त्यही अभियोगका कारण उहाँ सांसद पदबाट पनि निलम्बनमा पर्नुभएकाे थियाे । सफाइ पाएसँगै महराले अब संघीय संसदको अघिल्लो पङ्तिमा बस्न पाउनुहुनेछ । गत असोजसम्म महरा देशको पाचौँ वरीयतामामा हुनुहुन्थ्याे ।

उपसभामुख तुम्बाहाङफे सातौँ वरीयतामा हुनुहुन्थ्याे ।  समामुख र उपसभामुख एकै दलको हुन नपाउने संवैधानिक व्यवस्था अनुसार तुम्बाहाङफेलाई नेकपाले उपसभामुख पदबाट राजीनामा दिन लगाएको थियो । लामो समयको विवाद पछि शिवमायाले राजीनामा दिएर सभामुख नेकपाबाटै बन्‍ने बाटो खुल्ला गरिदिनुभएकाे थियाे । 

सभामुखमा पूर्व माओवादी तथा नेकपाका अध्यक्ष प्रचण्डनिकट अग्निप्रसाद सापकोटा सभामुख बन्नुभयाे । उपसभामुख पद भने अहिले रिक्त छ। महरा १०३ दिन पछि घर फर्कनुभएकाे छ भने शिवमाया मन्त्री बनेर फेरि सिंहदरबार प्रवेश गर्नुभएकाे छ । (थाहाखवर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्