निर्माणाधीन मुख्य सडकहरुको निरन्तर अनुगमन



रवीन्द्र काफ्ले
फिदिम, ४ फागुन

जिल्ला समन्वय समिति पाँचथरले प्रदेश सरकारबाट निर्माण भइरहेका मूख्य सडकहरुको द्रूत एवम् गुणस्तरीय निर्माणका लागि निरन्तर अनुगमन गर्ने भएको छ ।

सडक निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरका विषयमा प्रश्न उठेको तथा निर्माणका कारण उत्पन्न वातावरणीय प्रभावलाई ख्याल नगरिएको जनगुनासोपछि समितिले अनुगमन थालेको हो । निर्माण कार्यमा प्रयोग हुने निर्माणजन्य सामग्रीको गुणस्तर तथा मापदण्डमा विषयमा जनस्तरमा गुनासो आउने गरेको छ । यस्तै सडक निर्माण गर्ने क्रममा वातावरणीय प्रभावलाई बेवास्ता गर्दा दीर्घकालीन समस्या निम्तिनेतर्फ स्थानीयवासीले चिन्ता ब्यक्त गर्दै आएका छन् ।

सडक निर्माणका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्ति तथा वन जङ्गलको संरक्षण हुन नसकेको गुनासोपछि निर्माणाधीन मूख्य सडकहरुको अनुगमन थालिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले वताउनुभयो ।

पाँचथरमा प्रदेश नं. १ सरकारले करीब ४५ किलोमिटर ग्रामीण सडक कालोपत्रेको काम अघि बढाएको छ । कालोपत्रे बाहेक एक सय किलोमिटर भन्दा बढी सडक स्तरोन्नतिका लागि यहाँ प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

“सबै सडकहरुको निर्माण कार्य अघि बढेकाले तालुकदार निकायबाट भएका अनुगमन र नियन्त्रण प्रभावकारी नहुने जनगुनासोका आधारमा अनुगमन थालिएको हो”, जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले भन्नुभयो, “स्थलगत रुपमा सडक निर्माणको अवस्था अवलोकन र समस्या समाधानको प्रयास थालिएको छ ।” अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख सापकोटा र उक्त कार्यालयका कर्मचारीहरु, पूर्वाधार विकास कार्यालयका प्रमुख तथा प्राविधिकहरु र अतिरिक्त प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसमेत सहभागी हुनुहुन्छ ।

अनुगमन टोलीले निर्माणाधीन सरखण्डे–यासोक सडक, फिदिम–फालोट सडक र शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको हालैमात्र स्थलगत अनुगमन गरेको छ । “यी तीन वटै सडकहरुको निर्माणको कार्य अपेक्षाकृत नै छ”, समन्वय समितिका प्रमुख सापकाटोले भन्नुभयो, “तर निर्माण सामग्री, वातावरणीय रुपमा परेको प्रभाव, सरकारी तथा सार्वजनिक सम्पत्ति तथा वन जङ्गलको संरक्षणका विषयमा भने जिज्ञासा र प्रश्नहरु उठेका छन् ।”

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले एकै पटक धेरैवटा ठूला आयोजना सञ्चालन हुँदा गुणस्तर तथा मापदण्ड कायम गराउन सम्बन्धीत निकायलाई पर्नसक्ने समस्या समाधानमा केन्द्रीत भई अनुगमन अघि बढाइएको वताउनुभयो । उहाँले तीनै तहका सरकारले सहकार्य गरी विकास निर्माणका कार्यलाई द्रूत, प्रभावकारी एवम् गुणस्तरीय वनाउने प्रयत्न गरिएको वताउनुभयो ।

अनुगमन टोलीले स्थलगत अनुगमन गरेका मध्ये सरखण्डे–यासोक सडकको दूरी ११.३१० किलोमिटर रहेको छ । जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसम्म कालोपत्रे सडकले जोड्ने यो सडकको निर्माण गत असार मसान्तमा सुरु भएको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने यो सडकको कूल बजेट रु. ५३ करोड ३३ लाख ६ हजार रहेको छ । सडक निर्माणको जिम्मा लामा÷च्याङमिला जे.भी.ले पाएको छ ।

यस्तै प्रदेश सरकारबाट फिदिम–फालोट सडकको फिदिम–नांगीन खण्डको १०.१ मिलोमिटर सडक कालोपत्रेको कार्य गत असार मसान्तबाट सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने यो सडकले फिदिम नगरपालिकाको उत्तरी भू–भाग र जिल्लाको फालेलुङ गाउँपालिकालाई सदरमुकामसँग जोड्दछ । रु. ५२ करोड ६७ लाख ३० हजार कूल बजेट रहेको यो सडक निर्माणको जिम्मा कन्काई पीएस जेभीले पाएको छ ।

यस्तै १४ किलोमिटरको शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक गत असार २६ गते निर्माण सुरु भई दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । रु. ६७ करोड २२ लाख ४५ हजार कूल बजेट रहेको यो सडक निर्माणको जिम्मा कान्छाराम याक्थुङहाङ जेभीले पाएको छ । यस सडकले फिदिम, कुम्मायक र फाल्गुनन्द गाउँपालिकालाई जोड्नेछ ।

प्रदेश सरकारले फिदिमबाट पर्यटकीय क्षेत्र सन्दकपुर जोड्ने सडकको फिदिम–रानीटार खण्ड कालोपत्रेको बोलपत्रको कार्य पूरा गरेपनि निर्माण कार्य सुरु भएको छैन् । अनुगमन समितिले कालोपत्रे सहित अन्य स्तरोन्नतिका आयोजनाहरुको समेत स्थलगत अवलोकन गर्ने पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्