प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त



काठमाण्डौँ, २८ माघ

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए ।

२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।

यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्