लेखकद्वय डा. दुलाल र शेर्मा ‘अमर नेम्वाङ लिम्बू स्मृति पुरस्कार’बाट पुरस्कृत



फिदिम, २७ माघ

दिवङ्गत साहित्यकार एवं राजनीतिज्ञ अमरकुमार नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ लिम्बू स्मृति पुरस्कार’बाट लेखकद्वय डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा पुरस्कृत हुनुभएको छ ।

अमर नेम्वाङ लिम्बू स्मृति ट्रष्टले नेम्वाङको प्रथम स्मृति दिवसको अवसर पारेर आइतवार नेम्वाङको जन्मथलो पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा कार्यक्रमको आयोजना गरी लेखकद्वयलाई पुरस्कृत गरेको हो । पाँचथर घर भई इलामलाई कर्मथलो बनाउनुभएका उपन्यासकार, नाटककार एवं साहित्यकार डा. दुलाल र झापाका कवि तथा समालोचक शेर्मालाई जनही रु. ५० हजार राशीको उक्त उक्त पुरस्कार तथा सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

दिवङ्गत नेम्वाङको जन्मस्थान फाल्गुनन्द–३ पौवासारतापमा रहेको अमर नेम्वाङ लिम्बू स्मृति रंगशालामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईबाट लेखकद्वयलाई पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा ट्रष्टले फाल्गुनन्द गाउँपालिका वडा नं. ३ का दुई वटा विद्यालयहरुलाई रु. ५० हजारका दरले सहयोग प्रदान गरेको थियो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष नेम्वाङको गत वर्षको माघ २६ गते निधन भएको थियो । लेखन, समाजसेवा र राजनीतिमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका नेम्वाङको स्मृतिमा ट्रष्ट र पुरस्कार स्थापना गरिएका उहाँका जेठा छोरा मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो । ट्रष्टले वर्षेनि लेखन क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिहरुलाई पुरस्कृत गर्ने कार्यक्रम संयोजक रङ्गवादी कवि धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

वि.सं. १९९८ मा स्व. नयेन्द्रराज नेम्बाङ र श्रीहाङमा थाम्सुहाङको कोखबाट जन्मनुभएका नेम्वाङले लिम्बू समुदायबाटै पहिलो पटक वि.सं. २०२५ सालमा राजनीति शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको थियो । त्रिभुवन विश्व विद्यालयबाट उच्च शिक्षा हाँसिल गरेपछि गाउँ फर्केर समाज सेवामा समर्पित हुनुभएका नेम्वाङको समाज सेवामा छुट्टै पहिचान स्थापित छ । वि.स. २०३३ सालमा चिलिङ्दिन गाउँपञ्चायतमा जनपक्षीय उम्मेद्वार भई प्रधानपञ्च निर्वाचित भएयता उहाँ निरन्तर राजनीति, समाजसेवा र लेखनमा सक्रिय हुनुहुन्थ्यो ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेम्वाङ जिल्लाकै जेठो जनप्रतिनिधिको रुपमा निर्वाचित भई प्रथम जिल्ला सभाको अध्यक्षता समेत गर्नुभएको थियो । पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा जनप्रतिनिधिको भूमिकामा पुग्ने नेम्वाङको गत वर्ष फाल्गुनन्द–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्वोधन गर्दैगर्दा वेहोस् भएर ढलेलगत्तै उपचारका लागि लैजाने क्रममा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

नेम्वाङका ‘अमेरिका भ्रमणका सम्झनाहरु’, ‘सम्झनाका तरेलीहरु’ र ‘एक साँझको अवसान’ नामक कृति तथा थुप्रै फुटकर रचनाहरु प्रकाशित छन् । नेम्वाङ वि.सं. २०७५ सालमा सुप्रवल जनसेवाश्री पदकबाट समेत विभूषित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्